Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरीगंज, २९ चैत्र । गौरीगंज गाउँपालिका वडा नं.१ को कन्काई नदी बगरमा खरबुजा खेती गर्ने किसान लकडाउनबाट प्रभावित बन्न पुगेका छन। कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको समयमा नेपाल सरकारले लकडाउन गरेपछि सवारीसाधन रोकिदा बिक्री गर्ने समय भएको खरबुजाले बजार नपाउने सम्भावना बढेको किसानहरुले गुनासो गरेका छन्।

खरबुजा बिक्री गर्ने समयमा बन्द हुँदा पाकेको खरबुजा बगरमा नै कुहिने सम्भावना बढेको बिसानले बताएका छन।खोला बगरमा लगाएको खरबुजा पाक्ने समय भएपछि लकडाउनका कारण बजार तथा यतायत बन्द भएपछि खरबुजा बिक्री गर्न समस्या भएको किसानले बताएका छन।गौरीगंज गाउँपालिका वडा नं.१ को रंगीयाथान देखि हुलाकी सडक दक्षिण सम्म करिव सयौं बिगा क्षेत्रमा किसानहरुले खरबुजा र तरबुजा लगाएका छन्।

कुनै एक समयमा कन्काई नदिले छोडेको बालुवामा यस क्षेत्रका किसानहरुले नगद आर्जन गर्न सकिने बालि लगाएका छन्।अधिकांश किसानहरुले मलिलो माटोमा धान,गहुँ,मकै का साथै अन्य खाद्य तथा नगदे बालि लगाउदै आएकोमा यस क्षेत्रका किसानहरुले केही नहुने खोलाको बालुवा तह लगाएका छन्। वैदेशिक रोजगारीमा विदेशको समेत अनुभव बटुलेका किसानहरूले आफ्नै देशमा त्यतिकै मेहनत गर्दा विदेशको भन्दा राम्रो कमाई हुने भएपछि खरबुजा र तरबुजा खेती गर्न सुरु गरेको गौरीगंज-१ का किसान कैलाश राजवंशी बताउँछन्।

कैलाशले खोला बगरमा करिव ५ बिगाको क्षेत्रफलमा खरबुजा र तरबुजा लगाएका छन।उनी सहित सोही आसपासमा प्रकाश राजवंशी,जगन्नाथ राजवंशी,मनोज चौधरी लगायत ३० जना युवाहरुले खरबुजा र तरबुजा लगाएका छन्। गत वर्ष सोही स्थानमा खरबुजा लगाउँदा ४ लाख बढी आम्दानी भएको प्रकाश राजवंशीले बताए। गत वर्ष राम्रो आम्दानी भएकाले यस वर्ष क्षेत्र बढाएर लगाएको पनि उनले बताए। लकडाउनका कारण सबै तिर बन्द भएपछि खरबुजा बिक्री गर्न नपाए किसानहरुलाई लाखौ रुपैयाँ नोक्सानी हुने देखिन्छ।

भारतको बिहारबाट मेघना,माधुरी, अगस्ता र आस्ता जातका खरबुजाको बीउ खरिद गरेर पौष महिनामा लगाएको उनीहरुले बताए। एक केजि बिउको नेपाली मूल्य ४० हजार पर्ने र १ केजि बिउबाट ४५ हजार बिरुवा निस्कने पनि जानकारी गराए। पौष महिनाको जाडोमा खोलाको चिसो हावा खाँदै खोला धारमा बास बसेर गरेको दुख, उज्यालो भएदेखि बिरुवा रोप्ने, टिनमा बोकेर पानी लगाएको र गोडमेल गरि दुख गरेकाले बिक्री गर्ने समयमा बन्द हुदा लाखौ रुपैयाँ नोक्सानी हुने किसान बताउँछन्। गर्मी महिनामा खान उपयुक्त हुने पानीको मात्रा बढी भएको खरबुजा पाकेपछि अन्य क्षेत्रबाट व्यापारीहरु आई खरिद गरेर लाने गरेको बताएका छन्। उनीहरुले लगाएको खरबुजा व्यापारीहरु ट्रक लिएर बगरमा आई होलसेल मुल्यमा खरिद गरेर दमक, इटहरी, नारायणगढ, गोलबजार,जनकपुर, काठमाडौंका साथै स्थानीय स्तरका व्यापारीहरुले लाने गरेको उनीहरुले बताए। मल पानी राम्रो पुगेमा एउटा खरबुजा २० केजि सम्मको हुने र होलसेलमा प्रति गोटा २० रुपैया सम्ममा बिक्री हुने गरेको प्रकाश राजवंशीले बताए।

विदेशमा राम्रो कमाई नभएपछि आफ्नो देशमा बसेर काम गर्ने किसानहरुलाई उत्साह प्रदान गर्न आवश्यक रहेको गौरीगंज गाउँपालिका वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउँछन्। सयौं बिगा क्षेत्रमा लगाएको खरबुजा स्थानीय स्तरमा मात्र खपत हुने अवस्था नरहेकाले अन्य क्षेत्रमा निर्यात गर्न जरुरी रहेकाले सरकारी तवरबाट मुलुकका अन्य क्षेत्रमा खरबुजा निकासीका लागि पहल गर्ने वडाध्यक्ष राजवंशीले बताए।

तपाईको प्रतिक्रिया