झगेन्द्र खड्का
गौरीगंज, २४ चैत्र । नेपाल भारत सिमानाकामा थप सतर्कता अपनाई निगरानी बढाउन सशस्त्र प्रहरीको संख्या थप गरिएको छ। सिमानाकाको अनुगमन तथा निरिक्षण गर्न खटिएका सशस्त्र प्रहरीले २४ सै घण्टा सिमानाकामा सुरक्षा गरिरहेकाका छन्।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरि सबै नागरिकलाई घरैमा बस्न निर्देशन दिएको छ। हालसम्म भारत लगायत अन्य देशबाट नेपाल प्रवेश गरेका नागरिकहरुलाई कोरोना संक्रमण बढी देखिएकाले सिमानाकामा निगरानी बढाउन जरुरी देखिएको छ। सिमानाकामा कडाइ गरि आवागमनलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीको संख्या थप गरिएको छ।

झापा जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा भारत संग सिमा जोडिएको गौरीगंज गाउँपालिका भित्र रहेका २ वटा सशस्त्र प्रहरी बेस क्याम्पमा सुरक्षाकर्मी थप गरिएको छ। नेपाल भारतको दक्षिणी सीमा नाका खुल्ला रहेकाले जुनसुकै समयमा भारतीय भुमिबाट नेपाल तर्फ प्रवेश गर्न सक्ने हुँदा त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी गंभिरताका साथ खटिरहेका छन्। लकडाउनको समयमा हुन सक्ने आवगमनलाई कडाईकासाथ रोक्न र उच्च सतर्कता अपनाउन यस क्षेत्रमा सुरक्षाकर्मी थप गरिएको हो। गौरीगंज गाउँपालिका भित्र गौरीगंज र कुन्जीबारीमा २ वटा सशस्त्र प्रहरी बल बेस क्याम्प रहेका छन्।

दुवै क्याम्पमा जम्मा २२ जना सशस्त्र प्रहरी वलका सुरक्षाकर्मी थप गरिएसंगै गौरीगंज गाउँपालिका क्षेत्रमा जम्मा ६५ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिने छन् ।
गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछीमा रहेको सशस्त्र प्रहरी सुरक्षा बल बेस क्याम्पमा १५ जना सुरक्षाकर्मी थप भएपछि यहाँ ३७ जना र वार्ड नं। १ को कुञ्जिवारी सशस्त्र प्रहरी वलमा ७ जना थप भएपछि त्यहाँ जम्मा २८ जना सशस्त्र प्रहरी खटिने छन् ।

गौरीगंज गाउँपालिकाको करिब २० किलोमिटर खुल्ला सिमा नाकामा २४ सै घण्टा निगरानी तथा उच्च सतर्कता अपनाएको सशस्त्र सिमा सुरक्षा बल गौरीगंजका प्रहरी निरीक्षक साईमान श्रेष्ठले जानकारी गराए।नेपाल भारतको दक्षिणी क्षेत्रमा दशगजाले मात्र सीमा छुट्याएको हुँदा छिटफुट रुपमा वा बैकल्पिक बाटो प्रयोग गरि हुन सक्ने आवगमनलाई नियन्त्रण गर्न थप कडाईँ गर्न आवश्यक रहेको सशस्त्र प्रहरी प्रमुख श्रेष्ठले बताए।

सिमानाकामा आवागमनलाई नियन्त्रण गर्न प्रहरी खटिए पनि छुटफुट रुपमा हुने आवागमनलाई रोक्न नागरिकले पनि सहयोग गर्नु पर्ने भन्दै सुरक्षा निकाय हरदम चनाखो रहेको प्रहरी निरक्षक श्रेष्ठले बताए।जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता महेन्द्र श्रेष्ठले जिल्लाको खुल्ला सीमा नाकाहरूमा २९ वटा युनिट रहेको र सबै युनिटमा सशस्त्र प्रहरीको संख्या थप गरि प्रहरी परिचालन गरिएको बताए ।

तपाईको प्रतिक्रिया

Comments