Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

खगेन्द्र नेउपाने

सुतौं सुतौं
देश र जनताको लागि सुतौं
चौबीसमा बीस घण्टाको लागि सुतौं
अहिले त कोहि उठाउँन पनि आउँदैन
कुम्भकर्ण भनेर आरोप पनि लाउँदैन
मौका यहि हो हजुर !
घुरीघुरी सुतौं , कुरीकुरी सुतौं
देश र जनताको लागि सुतौं ।

चुनावको दौडधूपबाट थकित नेता
मन्त्री भैसके पछि आरामले सुते जस्तो सुतौं
भ्रष्टाचारको भक्कुबाट नगदको लक्कु पाएपछि
जिम्बेवारीको जिम्मा बिर्सिएको
हाकिम जस्तै सुतौं
बजारको भुस्याहा कुकुर जस्तै सुतौं
गर्मीको ढुकुर जस्तै सुतौं
सुतौं हजुर सुतौं
देश र जनताको लागि सुतौं ।

सुतौं सुतौं
अहिले बेलैमा सुतौं
भोलि सबेरै उठ्नु छ
मुख धूनु छ नुहाउँनु छ धुवाउँनु छ
फेरि सुत्नतर्फ जुट्नु छ
माथि थोरबहुत गन्ध छ
तल थोरबहूत बन्द छ
बाहिर लक छ भित्र डाउँन छ
कोल्टे फेरीफेरी सुतौं
आँखा हेरीहेरी सुतौं
निन्द्रा लागे पनि नलागे पनि
देश र जनताको लागि सुतौं ।

हिजो थुप्रै कुम्भकर्णहरु सुत्थे
ठूला भनाउँदा बर्णहरु सुत्थे
गुल्जार बजारमा आगोलाग्दा
खरानीमा गन्धेझार फुलुन्जेल
दमकलका आदेशहरु सुत्थे
हजुर बाबुको पालादेखि
नातिको पालासम्म अदालतका केसहरु सुत्थे
यहाँको विकाश जस्तै सुत्थे
मेलम्ची निकाश जस्तै सूत्थे
तर आज हाम्रो पालो आएको छ
कोरोनाले विश्वब्यापी जालो लाएको छ
त्यसैले कोठभित्रै बसौं
झुलभित्रै पसौं
देश र जनताको लागि सुतौं ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments