Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

विराटनगर, २३ चैत्र । कोरोना संक्रमणका सम्भावित बिरामीलाई राख्‍न प्रदेश १ मा आइसोलेसन शय्या थप गरिएको छ । यसैगरी शंकास्पद बिरामी राख्‍नका लागि विभिन्न स्थानमा क्वारेन्टाइन शय्या पनि थपिएको छ ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार साँझसम्म गरी प्रदेशका विभिन्‍न जिल्लाका २ सय ४४ स्थानमा ३ हजार ९ सय ५४ शय्याको क्वारेन्टाइन स्थापना भइसकेको छ। वडादेखि स्थानीय तहसमेतको सहयोगमा क्वारेन्टाइन स्थापना गरिएको हो।

यसैगरी ४९ स्थानमा ४ सय ३८ शय्या क्षमताको आइसोलेसन केन्द्र राखिएको छ। यसैगरी पूर्वका विभिन्न अस्पतालमा सम्भावित सिकिस्त बिरामीका लागि ४४ वटा आईसीयूसहितको शय्या व्यवस्था गरिएको मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव भरतमणि रिजालले बताए।

पूर्वका क्वारेन्टाइनहरुमा हालसम्म ५ सय ९९ जनालाई राखेर रेखदेख भइरहेको जनाइएको छ। यसैगरी शंकास्पद १३ जना बिरामीलाई आइसोलेसनमा राखेर उपचार र निगरानी भइरहेको छ।मध्ये ८ जना डिस्चार्ज भएका छन्। भारतका विभिन्न सहर अनि समुद्रपार मुलुकबाट आएका समेत गरी २ हजार ७ सय ५३ जनालाई होम क्वारेन्टाइनमा राखेर निगरानी भइरहेको प्रदेश सरकारले जनाएको छ।

शंकास्पद ७३ जनाको स्वाब नमुना संकलन गरेर परीक्षणका लागि व्यवस्थित प्रयोगशालामा पठाइएको छ। तीमध्ये ५७ जनामा कोरोना नेगेटिभ देखिएको छ। अरुको रिपोर्ट आउन बाँकी रहेको रिजालले बताए। गत आइतबारदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण भए, नभएको परीक्षण गर्न थालिएपछि नमुना संकलनको काम तीव्र पारिएको छ।

मन्त्रिपरिषदको कार्यालयका अनुसार संघीय सरकारबाट प्रदेश १ का लागि स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्री ५ सय ५३ वटा आएको छ। आईआर थर्मोमिटर २७ वटा, मास्क ४२ हजार १ सय, एक्जामिनेशन ग्लोब्स ८० हजार ५ सय आएको जनाइएको छ।

यसैगरी ह्यान्ड सेनिटाइजर २ हजार १ सय ३९, पीपीई गाउन १ हजार ८ सय ९६, नेबुलाइजन ४०, सर्जिकल ग्लोब्स ८ सय, एन ९५ मास्क ४ सय ८० वटा आएको जनाइएको छ। ती सामग्री विभिन्न जिल्लाका स्वास्थ्यकर्मीहरुका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ।

उपभोग्य वस्तु अभाव हुन नदिनेः

कोरोनाको सम्भावित संक्रमण फैलन नदिन लागू गरिएको लकडाउनका कारण अत्यावश्यक उपभोगका वस्तु अभाव हुन नदिन प्रदेश १ सरकारले सरोबारवाला सबैसँग समन्वय भइरहेको जनाएको छ ।

मुख्यमन्त्री शेरधन राईले आइतबार आयोजित क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रदेश समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् । खाद्यान्न लगायत उपभोग्य वस्तु अभाव हुन नदिन त्यस्ता वस्तु उत्पादन गर्ने उद्योगहरुलाई सुरक्षा अपनाएर सञ्चालन गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

त्यस्ता उद्योगहरुको सूची तयार गरी आफ्नो क्षेत्रमा पर्ने उद्योगहरु सञ्चालनको वातावरण बनाउन सम्बन्धित मनलयहरुलाई निर्देशन दिइएको राईले बताए । कोरोनाबाट जोगिन सचेतना अभियान, आपूर्ति व्यवस्थापन, सम्भावित संक्रमितको परीक्षण र उपचारजस्ता काम भइरहेको बैठकमा जानकारी दिइयो ।कान्तिपुर

तपाईको प्रतिक्रिया