Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काँकडभिट्टा, २३ चैत्र । लकडाउनमा पनि सबैजसो सामग्री आयात गरिरहेको मेची भन्सारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीयले विरोध जनाएपछि ग्यास, पेट्रोलियम र औषधि मात्र ल्याउने भएको छ ।

मेची भन्सारमा आइतबार बसेको सर्वपक्षीय छलफलमा भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले अब तरकारी, खाद्यान्नलगायत सामानसमेत आयात नगरिने जनाए। शनिबार झापाको धुलाबारीमा स्थानीयले प्लाइउड कारखानाको कच्चा पदार्थ बोकेर आएका तीन कन्टेनर नियन्त्रणमा लिएका थिए। सामान आयात गरिँदा चालक, सहचालकको स्वास्थ्य जाच नगरिएको र उनीहरूबाट कोरोना भित्रन सक्ने भन्दै उनीहरूले भन्सारलाई सचेत गराएका थिए।

स्थानीय र राजनीतिक दलका नेताहरूको आग्रहमा भन्सारले अत्यावश्यकबाहेकका सामान आयात नगर्ने निर्णय लिएको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए। सरकारले भने नाकाबन्दी र लकडाउनको समयमा समेत आयात नरोक्न पत्राचार गरेको उनले बताए।

भन्सारबाट लकडाउनयता करिब तीन करोड मूल्यको तरकारी र फलफूल आयात भएको देखिएको छ। तरकारी र फलफूलसँगै कोइला, क्लिंकर, छोकडा, मरीच, केराउ, सुपारी पनि आयात भएको छ।

मेचीनगरका मेयर विमल आचार्यले सीमापारि पश्चिम बंगालको सिलिगुडीमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भइसकेको अवस्थामा भारतबाटै सामान आयात गर्दा जोखिम हुन सक्ने बताए। ‘केही समयका लागि आयात रोक्नुको विकल्प छैन,’ उनले भने।

प्रदेश सांसदहरू श्रीप्रसाद मैनाली र गोपालचन्द्र बुढाथोकीले भारतबाट आयातित तरकारी झापाको चारआलीमा भण्डार गरी नेपाली उत्पादन भन्दै महँगो मूल्यमा बेच्ने काम भइरहेको जनाए। सांसद मैनालीले नेपाली तरकारी बजार पुर्‍याउने व्यवस्था मिलाउन र भारतीय तरकारीको आयात निरुत्साही गर्न जरुरी रहेको बताए।कान्तिपुर

तपाईको प्रतिक्रिया