Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २३ चैत्र । राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ ।

त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ । कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ ।

‘एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ, लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्छ । यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।

त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको अध्यक्ष पौडेलले बताएका छन् । लकडाउन खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्‍याइने छ ।’

कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन् । त्यसनिम्ति १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया