Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

भद्रपुर, २३ चैत्र। इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आइतबार बिहान नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आइतबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा. विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।

काठमाडौँदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको थियो ।

दुबै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाउने भएको छ भने सवारी साधन प्रहरी कार्यालयमै राखिएको छ ।

प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुबै व्यक्ति लागू औषधको खोजीका लागि छटपटाउँदै आइपुगेको आशङ्का गरिएको बताए । रासस

तपाईको प्रतिक्रिया