Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

धनगढी, २२ चैत्र । हालसम्म विदेशबाट आएकाहरुमा मात्रै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पहिलो केस धनगढीमा फेला परेको छ ।

दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवालाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फर्किएदेखि घरमै बसेका युवाको एक आफन्त महिलामा पनि संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ। ती आफन्त युवककी भाउजू हुन्।

ती महिलामा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनको परिवारका सदस्यहरुले बताएका छन्। ‘कुनै पनि लक्षण नदेखिएर पनि कोरोना संक्रमण भएको सुनेर हामी अचम्म परेका छौं,’ उनको परिवारका एक सदस्यले भने।

संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। त्यसमध्ये एकजनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको एम्बुलेन्सले शनिबार बिहानै घरमा पुगेर संक्रमण पहिचान भएकी महिलालाई अस्पताल ल्याएको छ। नलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ। संक्रमित युवकको पनि यहीं उपचार भइरहेको छ।

दुबईमा काम गर्दै आएका ती युवा चैत ७ गते फ्लाई ईमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए। दिल्लीबाट उनी त्यही दिन एयर भिस्ताराको उडानबाट दिउसो २ बजे काठमाडौका लागि उडेका थिए। चैत ८ गते शनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाडौंबाट नेपालगञ्ज आएका उनी नेपालगञ्जबाट महेन्द्रनगर जाने माइक्रो हाइसमा अत्तरिया आइपुगेका थिए।

तीन दिन घरमै बसेका ती युवालाई १० गते राति ज्वरो आएपछि ११ गते बिहान अस्पताल पुर्‍याइएको थियो। चैत १४ गते उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि उनको पूरै परिवारलाई जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा राखिएको थियो। परिवारका सबै सदस्य क्वारेन्टाइनमा गएपछि घरमा पशु चौपाया अलपत्र परेको भन्दै उनीहरुकै अनुरोधमा होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई चौथो दिन घर फर्काइएको थियो।कान्तिपुर

तपाईको प्रतिक्रिया