Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झगेन्द्र खड्का
गौरीगंज, १८ चैत्र । झापाको दक्षिण पश्चिम क्षेत्रमा भारत तथा अन्य मुलुकबाट घर फर्कीएका नेपालीहरुलाई निगरानीका साथ होम क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको समयमा घर फर्कीएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिनु पर्नेमा सामान्य चेकजाँच गर्दा संक्रमण नदेखिएको भन्दै होम क्वारेन्टाइनमा राखिएको छ ।

कोरोनाको संक्रमणबाट सुरक्षित हुन अन्य मुलुकबाट घर फर्कीएका व्यक्तीहरुलाई राख्न गौरादह र गौरीगंज क्षेत्रमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । गौरीगंज गाउँपालिकाले नव निर्मित अस्पताल भवन र गौरादह नगरपालिकाले सामुदायिक भवनमा १०/१० बेडको क्वारेन्टाइन स्थापना गरेका छन।कोरोना भाईरसको संक्रमणलाई रोकथाम गर्न भारत तथा अन्य मुलुकबाट घर फर्केका व्यक्तीहरुलाई कम्तीमा १४ दिन सम्म क्वारेन्टाइनमा राखिनु पर्ने सरकारको निर्देशन छ।

गौरादह र गौरीगंज क्षेत्रमा केही समय अगाडि भारत तथा अन्य मुलुकबाट घर फर्कीएका एक सय भन्दा बढी ब्यक्तिलाई होम क्वारेन्टाइनमा निगरानीमा राखिएको छ। रोजगारीका लागि भारत तर्फ काम गर्न गएर विभिन्न स्थानबाट घर फर्किएका, भारतको विहारमा रहेका आफन्तसंग भेटघाट गरेर घर फर्किएका, बिरामी भएर भारतमा उपचार गरेर घर फर्किएका र अन्य मुलुकबाट घर फर्किएका व्यक्तिहरूलाई चेकजाँच गरि होम क्वारेन्टाइनमा कडाईकासाथ निगरानीमा राखिएको गौरीगंजका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए।

गौरीगंज गाउँपालिकाको वार्ड नं.१ मा २ जना, वार्ड नं.४ मा १ जना र वार्ड नं.५ मा १ जना, वार्ड नं.६ मा १ गरि जम्मा ५ जना खाडी मुलुकबाट आएका व्यक्तिहरूलाई चेकजाँच गरि होम क्वारेन्टाइनमा निगरानीका साथ राखिएको र भारतको पंजाबबाट १७ जना , केरलाबाट ९ र आफन्तलाई भेटेर विहारबाट फर्केका केही व्यक्तीहरुलाई चेकजाँच गरि होम क्वारेन्टाइनमा राखी कडाईका साथ निगरानी गरिएको स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए।

उनीहरूको हालसम्म दैनिक ज्वरो नाप्नुका साथै स्वास्थ्य जाँच भईरहेको उनले जानकारी गराए।गाउँपालिकाले कोरोना संक्रमण भएको आशंका लागेका व्यक्तिलाई १४ दिन सम्म राख्न १० बेडको क्वारेन्टाइनको व्यवस्था गरेको छ । चैत ११ गते स्थापना गरिएको क्वारेन्टाइनमा हालसम्म कोही व्यक्ति भर्ना गराइएको छैन । भारत लगायत अन्य मुलुकबाट आएका सबै जना चेकजाँच गर्दा सामान्य अवस्था रहेको भन्दै होम क्वारेन्टाइनमा बसेका छन्। सरकारको निर्देशन अनुसार विदेशबाट आएका जो कोहीलाई पनि १४ दिनसम्म स्थानिय सरकारले स्थापना गरेको क्वारेन्टाइनमा राख्ने निर्देशन छ ।

त्यसैगरी, गौरादह नगरपालिकामा पनि विदेशबाट आएका १४ जनालाई चेकजाँच गरेर होम क्वारेन्टाइनमा राखिएको छ । अष्ट्रेलिया, दुवई र भारतको मुम्बई, दिल्ली र पंजाबबाट घर फर्कीएका व्यक्तीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन । उनीहरूको स्वास्थ्य चेकजाँच गरि होम क्वारेन्टाइनमा निगरानीमा राखिएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख प्रर्शुराम भट्टराईले बताए ।

उनका अनुसार १४ जना मध्ये कतारबाट आएका धिर कुमार बस्नेतलाई कोरोना भाईरस संक्रमण भएको आशंकामा क्वारेन्टाइनमा राखि थ्रोट स्वाब नेगेटिभ देखिएपछि होम क्वारेन्टाइनमा राखिएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए।

भारत लगायत अन्य मुलुकबाट घर फर्कीएका व्यक्तीहरुमा चेकजाँच गर्दा कोरोना संक्रमण नदेखिएकाले होम क्वारेन्टाइनमा राखिएको यदी शंका लागेका ब्याक्ती भेटिएमा क्वारेन्टाइनमा राखिने गौरादह नगर प्रमुख रोहित कुमार शाहले जानकारी गराए।

तपाईको प्रतिक्रिया