Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

बागलुङ, १८ चैत्र । बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्‍याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य छ ।

उनलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् । युवतीलाई गत शनिबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म पुग्न उनले गाडी रिजर्भ गरेको खुल्न आएपछि सो गाडीका चालकको खोजी शुरु भएकामा आइतबार चालक स्थानीय जनप्रतिनिधिको सम्पर्कमा आएका हुन् । सोही दिन परीक्षणका लागि पोखरा आएका उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिएकाले सामान्य तापक्रम जाँच गरेर घरमा पठाइएको थियो ।

स्थानीयवासीले भने उनको स्वाब परीक्षण गर्न माग गरेका छन् । गत चैत ४ गतेपछि लामो समय चालकको अन्य व्यक्तिसँग सम्पर्क भएकाले स्थानीय अहिले त्रसित भएको र उनको स्वाब परीक्षणको माग गरेका हुन् । वडाध्यक्ष सूर्यप्रसाद लम्सालले चालक अहिले घरमा नै रहेको र दैनिक स्वास्थ्यकर्मी पुगेर तापक्रम जाँच्ने र निगरानीमा राख्ने काम भएको बताए । हालसम्म उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखा नपरेको उनले जानकारी दिए ।

चालकले भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू परीक्षणका लागि गएको तर कुनै पनि लक्षण नदेखिएसम्म स्वाब परीक्षण नगर्ने भनी चिकित्सकले घर पठाएको बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले चालक आफूहरुको सम्पर्कमा रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको बताए । व्यक्तिमा कुनै पनि लक्षण नदेखिँदासम्म नमूना सङ्कलन गर्न नमिल्ने भएकाले चालकलाई घरमै सुरक्षित साथ बस्न आग्रहसहित पठाइएको उनले जानकारी दिए ।

गण्डकी प्रदेशमा २० जनाको नेगेटिभ, एकको पोजिटिभ

गण्डकी प्रदेशमा कोरोना भाइरसको आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएकामा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ आएको छ भने एक जनाको पोजिटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । पोजिटिभ बागलुङकी एक युवतीमा देखिएको थियो । बाँकीको नतिजा आउन बाँकी रहेको छ ।रासस

तपाईको प्रतिक्रिया