Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरीगंज, १७ चैत्र । मुलुक भर लकडाउन भएपछी बन्दका कारण दूध बिक्री नभएपछि गाई पालक किसानले गाउँलेहरुलाई निशुल्क दूध वितरण गरेका छन। कोरोना भाइरसको बिगबिगी बढेसँगै आवतजावत समेत बन्द भएपछि डेरीले दूध लिन छोडेको हो। गौरीगंज गाउँपालिका भित्रका किसानहरुले फर्म दर्ता गराएर गाई पालन गरि व्यवसायीक रुपमा दूध उत्पादन गरेपनि बन्दले गर्दा दूध बिक्री नभएपछि किसान मारमा परेका छन।

गौरीगंज गाउँपालिका भित्रका गाई पालक किसानहरुको दूध नबिके पछि किसानहरु आम्दानी गुम्नुको साथै गाईलाई खुवाउने दान समेत खरिद गर्न समस्या परेको छ। गौरीगंज गाउँपालिका भित्रका किसानहरु व्यवसायीक रुपमा उन्नत जातका गाई पालेर दूध उत्पादन गरिरहेका छन। धान खेतिबाट आम्दानी कम भएपछि त्यसको विकल्प खोजिरहेका किसानहरु बैंकबाट ऋण लिएर व्यवसायीक रुपमा दूध उत्पादन गरि आम्दानीको स्रोत बढाउने लक्ष्य लिएका थिए। केही किसानहरुले स्तरीय गोठ बनाई कृषि फारम दर्ता गराएर व्यवसायीक रुपमा गाई पालन गरेका छन। दूध बिक्री नभएपछि बैंकको किस्ता बुझाउन किसानलाई समस्या भएको छ।

गौरीगंज गाउँपालिका भित्रका किसानहरुले आम्दानीको स्रोत बढाई आय आर्जन बढाउन उन्नत जातका गाई खरिद गरि दूध उत्पादन गरेपनि दूध बिक्री भएन। विश्व भर फैलिएको कोरोना भाइरस किसानको बाधक बनेको छ। एउटै किसानले ५० लिटर भन्दा बढी दूध उत्पादन गर्दा बिक्री नभएपछि किसान समस्यामा परेका छन। गाई पालक किसानहरु अहिले दूध गाउँमा वितरण गर्दा पनि नसकिएको बताउँछन्। गौरीगंज गाउँपालिका वडा नं.३ मा पाथिभरा कृषि फर्म दर्ता गरि उन्नत जातका गाई पालन गर्दै आएका राजु शाहले दैनिक ७५ लिटर दूध उत्पादन गर्छन। उनको गोठमा ५ वटा उन्नत जातका गाई छन। तीन वर्ष अगाडि देखि गाई पालेर दूध बिक्री गर्दै आएका शाह दूध डेरी बन्द भएपछि अफ्ठयारोमा परेका छन। उनी अहिले गाई दोहेर गाउँलेहरुलाई बोलाएर दूध लगेर खाइदिन अनुरोध गर्छन । निशुल्क दूध पाएपछि गाउँलेहरु हर्षीत छन् । निशुल्क दूध वितरण गर्दा समेत बच्ने गरेको उनी बताउँछन्।

गौरीगंज खजुरगाछी क्षेत्रका किसानहरूले ल्याएको दूध खजुरगाछीको आठ मौजा बचत तथा ऋण सहकारी संस्थाले संकलन गर्दथ्यो । आठ मौजा सहकारीले संकलन गरेको दूध रितिका डेरी उद्योग धाईजनलाई बिक्री गर्ने गरेको थियो। सबैतिर बन्द भएका कारण डेरी उद्योगको गाडी दुघ लिन नआएपछि सहकारीले दूध लिन छोड्यो। डेरीले दुध नलिएपछी सहकारीले किसानको दूध नलिएको आठ मौजा बचत तथा ऋण सहकारीका अध्यक्ष अर्जुन दंगाल बताउँछन्। सहकारी संस्थाले दैनिक एक हजार लिटर दूध संकलन गर्ने गरेकोमा सय देखि १ सय ५० लिटर दूध स्थानीय ठाउँमा बिक्री हुने र बाँकी दूध रितिका डेरी उद्योगलाई बिक्री गर्ने गरेको आठ मौजा सहकारीका दूध संकलनकर्ता जय प्रसाद ढकाल बताउँछन्। गौरादह नगरपालिका वडा नं.८ थापा चौक निवासी नारायण प्रसाद गौतमले गौशाला कृषि फर्म दर्ता गरेर उन्नत जातका गाई पालेका छन् । उनले दैनिक ५० लिटर दूध बिक्री गर्दछन् ।

कोरोना भाइरसको बिगबिगी बढ्दै जाँदा सरकारी तवरबाट लक डाउन गरिदा बन्दका कारण दूध बिक्री नभएपछि गाउँलेहरुलाई बोलाएर सित्तैमा मा दूध बाँड्नु परेको बताउँछन् । सित्तैमा दूध पाउँदा गाउँलेहरुलाई राहात भएको छ भने गाई पालक किसानहरु मारमा परेका छन् । उनले भने बाच्छालाई मात्र छोड्दा दूध बढी भएर बाछो बिरामी हने डर छ। दूध बिक्री नभएपछि दूध बाँड्नुको विकल्प नभएको उनी बताउँछन्। गौरीगंज गाउँपालिका वडा नं.६ निवासी उमा अधिकारीको व्यथा पनि उस्तै छ। दैनिक ४० लिटर दूध बिक्री गर्दै आएकि उमाले पनि आठ मौजा सहकारीमा दूध बिक्री गर्ने गरेकि थिईन।दूध बिक्री नभएका कारण बैंकको ऋण तिर्न समस्या भएको उनी बताउँछिन्।

तपाईको प्रतिक्रिया