Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पोखरा, १५ चैत्र । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी एक किशोरीमा कोराना संक्रमण पुष्टि भएपछि अहिले उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

चैत ४ मा नेपाल आइपुगेकी नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया किशोरी काठमाडौंबाट विमान चढेर पोखरा र यहाँदेखि माइक्रो बस चढेर बागलुङ पुगेकी थिइन् ।

उनको ११ गते स्वाब लिएर परीक्षणका काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङमा किशोरीको पुष्टि भएपछि परिवार, आफन्त र वरपरका व्यक्ति सशंकित भएका छन् ।

‘किशोरी होम क्वारेन्टाइनमा बसेकी थिइन् । उनीसँग सम्पर्कमा आएका र अहिले फिबरका समस्या देखिएमा स्याम्पल लिने तयारी गरिरहेको बागलुङ स्वास्थ कार्यालय प्रमुख सुरज गुरौले बताएका छन् । सम्पर्कमा आएका त्यस्ता सम्भावित व्यक्तिहरुको खोजी भइरहेको बताए ।

किशोरीको सम्पर्कमा रहेकोहरुको आइतबार स्वाब संकलन हुने भएको छ । किशोरीको परिवार, सम्पर्कमा रहेका आफन्त र सम्भावित व्यक्तिहरुको स्वाब संकलनका निम्ति बागलुङमै तालिम प्राप्त दुई चिकित्सक तयारी अवस्थामा रहेको प्रदेश जनस्वास्थ प्रयोगशाला प्रमुख सपना सुवेदीले जानकारी दिइन् ।

‘परिवार, आफन्त र उनको उनको सम्पर्कमा आएकाहरुको पहिचानपछि भोलि स्वाब संकलन गरेर भोलि नै परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको सुवेदीले बताएकि छिन् ।
बागलुङमा किशोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यसको सन्त्रास पोखरामा पनि बढेको छ । किशोरी पोखरा हुँदै बागलुङ गएकाले उनीसँग अरु पनि सम्पर्कमा आएको हुन सक्ने भएकाले त्रास फैलिएको छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया