Online Bichar
बिहिबार, आश्विन १७, २०८१ | Thursday, October 3, 2024

काठमाडौं, १४ चैत्र । सरकारले दैनिक उपभोग्य वस्तुहरुको उत्पादन, ढुवानी, वितरण र किनमेललाई अवरोध नगर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो ।

बैठकपछि अर्थ र सञ्चारमन्त्री डा। युवराज खतिवडाले भने, ‘दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई नरोक्ने निर्णय भएको छ । ठूला उत्पादनमूलक उद्योगहरुको सञ्चालनलाई भने खुल्ला गरिएको छैन ।’ उनले भने, ‘हामी नागरिकहरुले पनि निश्चित दुरी कायम गर्ने र भीडभाड नगरी किनमेल गर्नुपर्छ ।’

कोरोना भाइरसबाट संक्रमित दोस्रो व्यक्ति भेटिएलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो । लकडाउनको समयमा सरकारले सबैलाई घरमा बस्न आग्रह गरेको छ र मंगलबारबाट अत्यावश्यक बाहेकका काममा बाहिर नआउन भनेको छ ।

बैठकले कोलकत्ता भन्सारबाट नेपाली भन्सार विन्दुसम्म आएर रोकिएका सामानहरु छुटाउन सहजीकरण गर्ने निर्णय गरेको छ । कुल्ली, भन्सार एजेन्ट नभएका तथा कागजपत्र पुर्‍याउन नसकेर सामान रोकिएको भए फोटोकपीका आधारमा समेत ती सामानहरु छुटाउन सकिने समेत समितिको निर्णय छ ।

यस्तै, अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट पनि काठमाडौं ल्याउने, विदेशमा बेखर्ची भएका विद्यार्थीका अभिभावकहरुले खर्च पठाउन चाहेमा विदेशी मुद्रा सटही गरिदिने जस्ता निर्णयहरु भएका छन् ।अनलाइनखबर

तपाईको प्रतिक्रिया