Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

बुटवल, १३ चैत्र । प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ ।

भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला बनाउन थालिएको हो । प्रयोगशाला बनाउन गहुँबाली अनुसन्धान केन्द्रको एउटा भवन निश्चित गरी काठमाडौंबाट विशेषज्ञ प्राविधिक बोलाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजेन्द्र गिरीले बताए ।

रियल टाइम पीसीआर मेसिन लगायत उपकरण जडान गरेपछि एक हप्ताभित्रमा प्रयोगशालामा सञ्चालनमा ल्याउन सकिने गिरीले बताए । प्रदेशमा कोभिड–१९ को परीक्षणका लागि प्रयोगशाला नहुँदा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्ने बाध्यता छ । देशभरिका नमूना परीक्षण गर्नुपर्दा रिपोर्ट आउन झण्डै एकहप्ता लाग्ने र बिरामीको उपचार प्रभावित भएको छ ।

‘कोरोना मात्र नभई भविष्यमा अन्य संक्रमक रोगहरुको परीक्षणका लागि पनि प्रयोगशाला चाहिने भएकाले अन्तर्राष्ट्रिय मापदण्डको र सुविधासम्पन्न बनाउने लक्ष्य रहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने । सरकारले भैरहवाको भीम अस्पतालको एउटा ब्लकलाई कोरोना उपचार केन्द्रको रुपमा स्थापना गर्न लागेको समेत मन्त्री बरालले बताए ।

३० बेडको ब्लकमा कोभिड–१९‘पोजिटिभ’ का बिरामीलाई मात्र उपचार गर्ने गरी काम भइरहेको पनि उनले बताए ।अनलाइनखबर

तपाईको प्रतिक्रिया