Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

पाँचथर, १३ चैत्र । कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै साउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाएको हो ।

सामाजिक सञ्जालमा क्युआर ६५२ उडानबाट कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि प्रदेश सरकारको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो । उनीहरु उक्त उडानबाटै नेपाल आएको पुष्टि भएको छ ।

उनीहरुका परिवारलाई होम क्वारेन्टाइनमा बस्न स्थानीय प्रशासनले भनेको छ । सामाजिक सञ्जालमा उक्त उडानबाट पाँचथरका तीन युवा नेपाल आएको चर्चा भएको थियो । तीमध्ये एक जना झापामा बसोबास गर्दैआएको र उनी क्वारेन्टाइनमा बसिसकेका छन् । सामाजिक सञ्जालमा यस प्रकारको चर्चापछि प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा दुवै युवालाई क्वारेन्टाइन पठाइएको हो ।
एम्बुलेन्सबाट उनीहरुलाई मोरङ पु¥याइएको हो । दुवै युवाको परिवारलाई विशेष निगरानीमा ‘होम क्वारेन्टाइन’मा राखिएको छ र तिनको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गर्ने भएका छन् । दुवैमा कोभिड–१९ को सङ्क्रमणबारे शीघ्र स्वास्थ्य परीक्षण गरिने मन्त्री आङ्बोले जानकारी दिए ।

त्यस्तै उक्त विमानमा आएका सिन्धुपाल्चोकाका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । मङ्गलबार यात्रुको विवरण सार्वजनिक भएपछि सिन्धुपाल्चोकका तीन जना रहेको खुलेको थियो । एउटै जहाज प्रयोग गरेका जिल्लाका तीनै जनाको विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । युवती आएको जहाजमा आएका सिन्धुपाल्चोकका तीन जना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लले जानकारी दिए । उनीहरुमध्ये एक होम क्वारेन्टाइनमा, एक काठमाडौँ जोरपाटीस्थित ह्वाइट गुम्बा र अर्का व्यक्ति स्वयम्भूको नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले बताए ।

उनीहरुको परिवारलाई समेत होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको उनको भनाइ छ । यस्तै मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङकी ३५ वर्षीया युवती दुवईबाट भारत, काठमाडौं हुँदै गाउँ छिरेको सूचना प्राप्त भएपछि तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा ल्याउन जिसस संयोजक तामाङले अनुरोध गरेपछि मेलम्ची इलाका प्रहरीको अगुवाइमा हाल चिकित्सकको निगरानीमा रहेको प्रहरी निरीक्षक फलबहादुर तामाङको भनाइ छ । मेलम्ची १२ बाँसबारीका दुई युवा भारतबाट घर फर्केर निर्बाध हिंँडडुल गरिरहेकाले तिनलाई समेत नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गर्न लगाउन प्रहरी एकाइ खटाइएको उनको भनाइ छ । चौतारास्थित जिल्ला अस्पतालमा दुवईबाट घर फर्केका तीन जनालाई स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा राखिसकिएको तामाङले जानकारी दिए ।रासस

तपाईको प्रतिक्रिया