Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १२ चैत्र । कोरोना भाइरसको रोकथाम गर्न गौरादह नगरपालिका वडा नं.९ बैगुन्धुराले बुधबार बैगुन्धुरा भित्रका विभिन्न स्थानमा किटनाशक औषधि छरेको छ । बैगुन्धुराका एक युवालाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएपछी वडाका विभिन्न स्थानमा किटनाशक औषधि छर्ने कार्य गरिएको हो।

बैगुन्धुराको दहगाँउ भर्खरै विदेसबाट आएका एक युवामा कोरोना भाइरसको आशंका गरिएपछि गाउँमा शंका र त्रास बढ्न नदिन वडा कार्यालयले विसादी छर्केको हो। वडा कार्यालयले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न वडा भित्रका सार्वजनिक स्थल र कार्यालयहरूमा किटनाशक औषधि छर्ने कार्य गरेको हो।

कोरोना भाइरसको आशंका गरिएका युवाको घर सहित २ सय मिटर वरपर सम्म किटनाशक औषधि छरेका वडाध्यक्ष सीताराम भट्टराईले जानकारी गराए।वडा भित्र बसोवास गर्ने सम्पुर्ण नागरिकहरुलाई कोरोना भाइरसबाट वच्न गाउँ, टोल, बस्ती बस्तीमा वडाध्यक्ष भट्टराई सहित वडा स्तरिय समन्वय समिति सहितको टोली पुगेर नागरिकहरुलाई सचेत गराउने, वडाभित्र सचेतना फैलाउने , वडाका विभिन्न सार्बजनिक स्थानहरुमा साबुन पानीले हात धुनका लागि साबुन र भाडा राख्ने , पर्चा वितरण , पोष्टरिङ गर्ने , सार्बजनिक स्थल तथा कार्यालयहरुमा किटनाशक औषधि छर्कने कार्य गरिएको वडा सचिव राम प्रसाद दाहालले जानकारी गराएका छन् ।

वडा भित्र रहेका मुख्य चौक, बजार तथा मानिसहरुको जमघट हुने ठाउँमा सजगताका लागि वडा अध्यक्ष सीताराम भट्टराईको अध्यक्षतामा गठन भएको कोरोना भाइरस संक्रमण,सजगता, रोकथाम तथा नियन्त्रण समन्वय समितिले वडा भित्रका सबै गाउँ,टोल , बस्ती र मुख्य चौक तथा बजारहरुमा धारा सहितको ड्रम र हात धुने साबुन बितरण गरेको छ।

त्यसैगरी समितिले गाउँमा पुगेर वडा भित्रका १३ स्थानमा धारा सहितको ड्रम सेट र साबुन राखेको छ।साबिकको बैगुन्धुरा गाविस नै एउटै वडा रहेको बैगुन्धुराका मुख्य बजार,मिलन चौक,झमक चौक,चौताराचौक,भट्टा चौक त्रिवेणी टोल,खजुरवारी चौक,चाँदनी चौक,ग्वालमुनि चौक,दह गाउँ,प्रविण चौक लगायतका १३ स्थानमा पर्चा,पम्प्लेट ब्यानर सहित हात धुने साबुन पानी र माक्स को व्यवस्था गरेको हो।
सचेत बन्न सुचना प्रवाह गर्दै गाउँ टोलमा पुगेको टोलिले कोरोना भाइरस भित्रिन सक्ने र आफू सुरक्षीत हुने उपायका बारेमा प्रशिक्षण दिदै हात धुने तरिका सिकाएको वडा सचिव राम प्रसाद दाहालले बताए। भुगोलको आधारमा गौरादह नगरपालिकाको सबै भन्दा ठुलो वडा भएकाले कोरोना भाइरसको लक्षण,असर र नियन्त्रणका उपायका

बारेमा सबै जनसमुदायमा प्रशिक्षण दिन जरुरी भएकाले गाउँ टोलमा पुगेर जानकारी गराइएको वडा नं.९ का स्वास्थ्य चौकी प्रमुख बिष्णु बहादुर प्रधानले बताए।
वडावासिहरुलाई बाहिरबाट कोहि व्यक्ति आएमा वा ज्वरो आएमा उनिहरुलाई सकेसम्म छिटो नजिकको स्वास्थ्य चौकीमा चेकजाँचका लागि पठाउन अनुरोध गरेको वडा कार्यलयका कर्मचारी केदार बाबू गिरीले बताए। कार्यक्रममा वडा अध्यक्ष सीताराम भट्टराई, वडा सदस्य कृष्ण प्रसाद गौतम, वडा सचिव राम प्रसाद दहाल , वडा कर्मचारि केदार बाबू गिरी , कुमार रोक्का, स्वास्थ्य चौकी प्रमुख विष्णु बहादुर श्रेष्ठलगायत स्वास्थ्यको टिम लगायत स्थानीय गतिशिल युवा क्लबका प्रतिनिधिको सहभागिता रहेको स्वास्थ्य विमा प्रमुख यज्ञनिधि खतिवडाले बताएका छन् ।

तपाईको प्रतिक्रिया