Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
गौरादह, ९ चैत्र । गौरादह नगरपालिकाले नगर भित्र रहेका साप्ताहिक हाट बजारहरु केहि समयका लागि बन्द गर्ने निर्णय गरे सँगै बजारहरु सुनसान भएका छन । कोरोना भाइरसको बिगबिगी बढेका कारण बजार बन्द गर्ने निर्णय गरेपछि आइतबार लाग्ने गौरादह बजारमा चहलपहल घटेको हो। कोरोना भाइरस(कोभिड-१९)को महामारी फैलिरहंदा गौरादह नगरपालिकाले बढी भिडभाडका कारण संक्रमणको जोखिम बढी हुने भएकोले सो निर्णय गरेको थियो ।

हाटबजारको दिन नगरपालिका भित्रका ग्वालडुब्बा, स्कुलचौन, चप्रामारी, बालुबथान, दामुना, बैगुन्धुराका व्यापारीहरु हाटबजार मा सामग्रीहरु बिक्रि गर्न आउँदथे भने गौरीगंजगाउँपालिका लगायत विभिन्न स्थानहरुबाट सामानहरु बिक्रि वितरणका लागि व्यापारीहरु गौरादह आउने गर्दथे । हाट बजार बन्द हुँदा मानिसहरुको चहल पहलमा कमी आएसँगै व्यापारीहरु समस्यामा परेका छन् ।

बजारको दिन व्यापारीहरुले लुगा, कपडा, जुत्ता चप्पल, किराना सामान,साग सब्जी लगायतका सामानहरु ल्याएर बिक्रि वितरण गर्दै आएका थिए । साग सब्जी भने बिक्रि वितरण गर्न दिइने जनाइएको छ।
कोरोना भाइरस संक्रमणबाट सुरक्षित गर्न गौरादह नगरपालिका र गौरादह उद्योग वाणिज्य संघले विभिन्न माध्यमबाट सुचना प्रवाह गरेपछि व्यापारीहरु आफैं बुझेर पनि सामग्रीहरु विक्री वितरणका लागि हाटबजारमा नआएको उद्योग वाणिज्य संघका अध्यक्ष जेबी कार्कीले बताएका छन् । उनले चैत मसान्त सम्म साप्ताहीक रुपमा लाग्दै आएको हाट बजार बन्द गरिने जनाएका छन् ।

यस्तै, नगरपालिका भित्र साप्ताहिक रुपमा लाग्दै आएको हाटबजारका सबै व्यापारीहरुले आ-आफ्नै ठाउँमा रहेर साग सब्जी लगायतका सामग्रीहरु बिक्रि वितरण गर्न आग्रह गर्दै बाहिर बाट यहाँका हाटबजारमा साग सब्जी लगायतका विभिन्न सामग्रीहरु बिक्रि वितरण गर्न आउने व्यापारीहरुलाई तत्कालको लागि नियन्त्रण गरिएको बताए । बाहिरका व्यापारीहरु आउँदा बजारमा भिडभाड बढ्ने भएकोले यस्ता व्यापारीहरुलाई पूर्ण रुपमा नियन्त्रण गरिएको जनाइएको छ । यस्तैगरि माछा मासु बिक्रि गर्न राखिएका अव्यस्थीत पसलको अनुगमन गरि व्यवस्थीत ढंगले पसल संचालन गर्न आग्रह गरिने जनाइएको छ । नगरभित्र रहेका हाटबजारहरु बन्द गरिएपनि नियमित रुपमा संचालन भइरहेको गुद्री बजार भने, यथावत रुपमा संचालन गरिने जनाइएको छ ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया