Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २६ माघ । चीनको हुवेई प्रान्तमा पर्ने वुहान शहर र आसपासमा रहेका नेपाली विद्यार्थीलाई घरफिर्ती गर्ने निर्णय भएमा प्रकृयागत तयारीका लागि कम्तिमा ७२ घण्टाअघि यसबारे सूचना दिन चीन सरकारले आग्रह गरेको छ ।

वुहानमा रहेका बाहिरी दुई दर्जनभन्दा बढी मुलुकका विद्यार्थी र आप्रवासी नागरिकको घरफिर्ती भैसकेर पनि नेपाली, पाकिस्तानीसहित केही देशका नागरिक मात्रै उद्धारको पर्खाइमा रहेको समाचार बाहिरिएपछि आइतबार दिनभर पर्यटन मन्त्रालयमा उद्धार संयन्त्रको समन्वयका बारे बैठक बसेको थियो।

‘वुहानसहितका शहरमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक स्वास्थ्य परीक्षणको प्रकृयासहित विमानस्थलमा ल्याइपुर्याउन समय चाहिने देखिएको छ, फेरि ९८ डिग्रीभन्दा माथि कसैलाई ज्वरो आएको पाइएमा उतै ‘आइसोलेसन’मा राखिनेछ,’बैठकमा सहभागी एक अधिकारीले चिनियाँ दूतावासले दिएको पछिल्लो ‘ब्रिफिङ’ बारे भने,‘यसकारण कम्तिमा ७२ घण्टा९३ दिन०को तयारी अवधी चिनियाँ पक्षले मागेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार समेत वुहानबाट नेपाली विद्यार्थी तत्काल फिर्ता ल्याउन निर्देशन दिएपनि प्रकृयागत कारणले यसबारे आइतबार पनि निर्णय हुन सकेन। ‘नेपाल वायुसेवाको वाइडबडी लैजाने भन्ने निश्चितप्राय भएको छ,’प्राधिकरणका एक अधिकारीले भने,‘हिमालयन एयरलाइन्सले आफ्नो विमान ‘मेन्टेनेन्स’मा रहने भएकाले बुधबार पछिको निर्णयमा चीन जान नसक्ने भनिसकेको छ।’

घरफिर्तीको निर्णय भएर सूचना दिएपछि पनि नेपाल वायुसेवाले भारत, बंगालादेश, म्यानमारसहितका मुलुकबाट ‘ओभरफ्लाइङ’ अनुमति लिनुपर्ने भएकाले यसबारे सोमबारबाटै कूटनीतिक प्रकृया थालिने परराष्ट्रका अर्का एक अधिकारीले जानकारी दिए।

‘सबै प्रकृया टुंगोमा पुगेमा सम्भवतः बुधबार हामी उद्धारका लागि चीन जान सक्छौं,’पर्यटनका ती अधिकारीले भने,‘होइन भने आगामी शनिबार मात्रै उडान हुने सम्भावना छ।’ यो प्रकृयागत निर्णयका लागि सोमबार पनि पर्यटन मन्त्रालयमा बैठक बस्दैछ।

बेइजिङस्थित नेपाली दूतावासमा १ सय ८५ नेपाली विद्यार्थीले घरफिर्तीका लागि नाम टिपाएपनि नेपाल सरकारको कुनै प्रकारको निर्णय वा निर्देशनबारे जानकारी नभएको दूतावासका एक अधिकारीले बताए। कान्तिपुर

तपाईको प्रतिक्रिया