Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झगेन्द्र खड्का
गौरीगंज, २५ माघ । गौरीगंज गाउँपालिकाले गौरीगंजलाइ खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेपनि नागरिकहरुले खुल्ला स्थानमानै दिशा गर्ने गरेका छन। गाउँपालिका भित्र बसोवास गर्ने नागरिकहरुको घरमा चर्पी बनिसकोकाले सबैलाई दिसापिसाबका लागि चर्पी प्रयोग गर्न जानकारी गराएको थियो।

गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र बनाउन चर्पी नभएका घरहरुमा गाउँपालिकाको लगानीमा चर्पी बनाईएको थियो। नागरिकहरु भने दिसापिसाबका लागि चर्पीमा जाने बानी नभएका कारण खोलाको धार,झाडी वा सडक पेटिमै दिशा गर्ने गर्दछन। गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणाका लागि करिब एक बर्ष अगाडिदेखि गाउपालिका भित्रका सबै वडामा सचेतना कार्यक्रम संचालन गरिएको थियो । खुल्ला स्थानमा गरिने दिसापिसाब बाट हुने हानि नोक्सानी र मानव जिवनमा पर्ने असरको बारेमा जानकारी गराए पनि नागरिकहरुले चर्पीको प्रयोग गरेका छैनन्। गाउँपालिकाले गौरीगंजलाई खुल्ला दिसा मुक्त क्षेत्र आधिकारिक रुपमा घोषणा गरेपनि व्यवहारिक रुपमा लागू भएको छैन। गौरीगंज गाउँपालिका वडा नं.४ मा खुल्ला स्थानमा दिशा गर्नेहरुको संख्या प्रशस्त मात्रामा देखिएको छ।

वडा कार्यालयले खुल्ला स्थानमा दिशा गर्ने घर परिवारहरुको यकिन गरि नाम सार्वजनिक गरेको हो। खुल्ला दिशा मुक्त क्षेत्रलाई व्यवहारिक रुपमा लागू गराउन सहयोग पुर्‍याउने उद्देश्यले गौरीगंज गाउँपालिका वडा नं. ४ को वडा कार्यालयले खुल्ला मैदानमा दिसा गर्ने घरधुरीको नाम कार्यालयमा टाँस गरि सार्वजनिक गरेको हो। वडा कार्यालयले वडा बासिहरुलाई निशुल्क शौचालयका सामग्री वितरण गरेपनि चर्पीमा घेराबेरा नभएका र चर्पी भएर पनि खुल्ला मैदानमा शौच गर्ने घरधुरीको नामावली कार्यालयमा टाँस गरेको छ ।

कार्यालयले आफ्नो वडाका वडावासीहरूलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने बेलामा चर्पी नभएका घरधुरीको यकिन गरि चर्पी बनाउने सामाग्रीहरू विपन्न तथा दलित धरधुरीलाई निःशुल्कमा वितरण गरेको थियो ।चर्पी निर्माण गर्न वितरण गरिएका सामाग्रीहरू रिङ्ग, पाइप र पेना वार्ड कार्यालयबाट विपन्न तथा दलित घरधुरीले निःशुल्कमा लगेपनि उनीहरूले उपयोग नगरी चर्पी कतिपयले बनाएका छैन्न भने कतिपयले चर्पी बनाए पनि खुल्ला मैदानमा शौच गर्दै आएका छन। वडा कार्यालयले चर्पी नभएका , चर्पी भए पनि घेराबेरा नभएका र चर्पी भएर पनि खुल्ला मैदानमा शौच गर्ने करिब २ सय ५० घरधुरीको नामावली कार्यालयको भित्तामा टाँस गरिएको छ ।

वडा कार्यलयको तथ्यांक अनुसार वार्ड नं. ४ मा १०५० घरधुरी रहेका छन् । यस वाडामा राजवंशी, ताजपुरिया,गिरी, महतो, सतार, गन्गाई, माली, मुसहर समुदायका मानिसहरूको बसोबास रहेको छ । गौरीगंज गाउँपालिकालाई खुल्ला दिसा मुक्त घोषणाका लागि गाउपालिकाले लाखौ रूपैयाँ गाउँपालिकाले खर्च गरेको थियो ।गौरीगंज गाउपालिकाका अधिकांस ग्रामीण क्षेत्रका व्यक्तिहरूले खुल्ला मैदानमा शौच गर्नुले घोषणा केवल घोषणामा मात्र सिमित भएको देखिन्छ।चर्पी निर्माणका लागि वडा कार्यलयले चर्पी नभएका विपन्न तथा दलित घरधुरीलाई निस्शुल्क र आर्थिक अवस्था भएका घर धुरीलाई आर्थिक हैसियत बुझेर ५ सय देखी १ हजार रूपैयाँ सम्म रिङ्ग, पेना र पाइप वितरणमा सहयोग गरेको वाडा नं.४ का वडा अध्यक्ष कुल प्रसाद गिरीले बताए । सबै घरधुरीमा शौचालय निर्माणका लागि कार्यालयले ६ लाख रूपैया बजेट खर्च गरेको वडाध्यक्ष गिरीले बताए।

तपाईको प्रतिक्रिया