Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २५ माघ । गौरादह नगरपालिका वडा नं.२ ले वडा भित्र रहेका सडकहरुमा सडक बत्ती जडान गरेको छ। अँध्यारोमा समेत आवतजावत गर्न सहज बनाउने उद्देश्यले वडा भित्र रहेका बिजुलीका पोलहरुमा सडक बत्ती राखेको छ।

वडाले वार्ड सिलिङ बजेटबाट ८ लाख रुपैया वजेट विनियोजन गरेपछि सडक बत्ती राख्न सहज भएको हो।वडा भित्र रहेका मुख्य सडक सहित गाउँ भित्र जाने अन्य सडकमा समेत सडक बत्ती बालिएको छ।वडा नं.२को बिच भागबाट गौरादह बजार हुँदै दक्षिण ठेकिटोला जोड्ने मुख्य सडकको वडा नं.७ को सिमाना सम्म सडक बत्ती बालिएको छ।

बजारबाट दक्षिण तर्फ हिमाली चौक देखि नगरपालिकाको कार्यालय जाने सडक तथा दहलु चौक देखि पुर्व तर्फ डिल्ली सेढाईका घर सम्म रहेका बिजुलिका पोलहरुमा सडक बत्ती जडान गरिएको छ।सडक बत्तिका लागि ६ वटा मिटर जडान गरिएको छ। वडा भित्र रहेका मुख्य तथा व्यस्त सडकमा पहिलो चरणमा सडक बत्ती जडान गरिएको वडा सदस्य विजय कन्दंवा बताउँछन् ।

यस आर्थिक वर्षमा १ सय २० वटा सडक बत्ती जडान गरिएको र बाँकी ठाउँमा आगामी आर्थिक वर्षको वजेटबाट सडक बत्ती जडान गर्ने लक्ष्य रहेको वडा नं.२ का वडाध्यक्ष हेमन्त कार्कीले बताए । बत्ती जडान गरिएपछि साँझ वा अध्यारोमा हिंडडुल गर्न सहज भएको छ। यसअघि साँझ पर्न साथ सडकमा हिड्न लाईट वा राँको लिएर हिड्नु पर्ने बाध्यता थियो।

गाउँ घरमा आपतबिपत पर्दा समेत सहज रुपमा काम गर्न सकिने भएको छ। सडक बत्ती बलेसंगै गाउँ घरमा हुने गरेका चोरिको बिगबिगी हट्ने गाउलेहरुले विस्वास लिएका छन। गाउँ घरमा सडक बत्ती बलेर गाउँ पनि सहर जस्तै झलमल्ल उज्यालो भएकाले चोरि चकारी हट्नुका साथै गाउँमा सुविधा बढेको वडा नं.२ का स्थानिय टंक गिरी बताउछन। गाउँमा यातायात, विद्युत, खानेपानी, उपचारको क्षेत्रमा यसरी नै क्रमश बिकास हुने हो भने सहर तिर बसाइँ सर्ने प्रक्रिया न्यून हुने स्थानीय मदन रिजाल बताउँछन् ।

तपाईको प्रतिक्रिया