Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २३ माघ । सरकारले कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेहरुलाई बल्ल कारवाही गर्न तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले सिन्डिकेट गरेर कुखुराको मूल्य दोब्बर बनाउन नेतृत्व गर्नेहरुलाई कारवाही गर्ने भएको हो ।

त्यसपछि अभियानमा सहयोग गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउने दावी सरकारको छ । उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई महंगीमा पार्न गलत अभियान चलाउनेहरुबारे सबै तथ्यांक र विवरण संकलन गरिएको र सम्भवत स् शुक्रबार नै टोली फिल्डमा जाने बताए ।

‘फिल्डमा गएर उनीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउँछौं,’ उनले भने,’यसका लागि पशुसेवा विभाग र हाम्रो टोली संयुक्त रुपमा खटिँदैछ ।’

उनले चल्ला मार्ने अभियान चलाउन सार्वजनिक रुपमा सूचना र विज्ञप्ति निकालेर आह्वान गर्नेहरु सबैभन्दा पहिले सजायको भागिदार हुने सुवेदी बताए ।

अत्याधिक चल्ला उत्पादनले उचित मूल्य नपाएको भन्दै नेपाल ह्याचरी संघले गत मंसिर महिनामा ६० लाख निशेचित अण्डा नष्ट गरेको थियो । त्यसपछि लगातार मूल्य बढेर काठमाडौंमा कुखुराको मासुको मूल्य प्रतिकिलो ४४० रुपैयाँसम्म पुगेको छ । आजभन्दा ५० दिन अघि प्रतिकिलो कुखुराको मासुको २४० रुपैयाँ हाराहारीमा मात्र थियो ।

बुधबार सरकारले कारवाहीको चेतवनी दिएपछि बिहीबार कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँ घटाउने व्यवसायीले बताएका थिए । तर, बिहीबार बजारमा त्यस्तो सहमति अनुसार मासुको मूल्य घटेन ।

स्वदेशमै चल्ला, अण्डा र मासु उत्पादन भएपछि सरकारले स्वदेशी उद्योग संरक्षणको नीति अन्र्तगत आयतमा पूर्ण बन्देज लगाएको छ । भारतलगायतका मुलुकबाट नेपालमा मासु र खाने प्रयोजनका लागि अण्डा आयत हुँदैन । तर व्यवसायीले यसलाई टेकेर उपभोक्ताको ढाड सेकिरहेका छन् ।

तपाईको प्रतिक्रिया