Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २३ माघ । ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ ।

करिब १५ वर्ष पुरानो उक्त सेवा बन्द गरेर त्यसका हाल कायम ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ । बुधबार कम्पनीको१६औँ वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको वायरलेस सेवामा एकरूपता ल्याउने उद्देश्यसहित यो सेवा बन्द गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षभित्रै सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रूपमा रूपान्तरण गरिने छ ।

टेलिकमले सन् २००५ मा पहिलोपटक सीडीएमए सेवाको ‘सफ्ट लन्च’ गरेको थियो । त्यसअघि यो सेवामा नेपालमै पहिलोपटक युनाइटेड टेलिकम (यूटीएल)ले सन् २००२ मा सुरु गरेको थियो । हाल प्रचलनमा रहेको जीएसएम मोबाइल सेवाको पहुँच विस्तार नभएका स्थानमा तत्काल नै सञ्चार सम्पर्क स्थापित गराउन सीडीएमए सेवा त्यतिबेला प्रभावकारी बनेको थियो ।

सीडीएमका लागि तोकिएको फ्रिक्वेन्सी धेरै भागमा फैलाउन सकिने भएकाले नेपालमा दूरसञ्चार पहुँच विस्तारमा यसको महत्तवपूर्ण भूमिका रहेको थियो । दूरसञ्चार प्राधिकरणका अनुसार अहिले नेपाल टेलिकमका करिब १७ लाख सीडीएमए प्रयोगकर्ता छन् । टेलिकमले आठ सय ५० मेगाहर्ज ब्यान्डमा छ मेगाहर्ज (सेयर्ड) फ्रिक्वेन्सीमार्फत सीडीएमए सेवा उपलब्ध गराइरहेको छ ।

पछिल्लो समय जीएसएम प्रविधिको देशका अधिकांश ठाउँमा पहुँच पुगिसकेकाले सीडीएमएका लागि प्रयोग भएको फ्रिक्वेन्सीसमेत बचत हुने अधिकारीले बताए। प्रविधिगत रूपमा विश्वव्यापीस्तरमै सीडीएमए सेवाको विकास क्रम रोकिएकाले नियामक समेतको सहकार्यमा यो सेवालाई रूपान्तरणसहित बन्द गर्ने कार्यक्रम कम्पनीले ल्याएको उनले बताए ।गोरखापत्र

तपाईको प्रतिक्रिया