Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २३ माघ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन निर्धारित समयमा नहुने लगभग पक्का भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्ववियु नियमावलीमा चुनाव हुनुभन्दा एक महिना अगाडि नै कार्यतालिका सार्वजनिक हुनुपर्ने व्यवस्था छ । तर, त्रिविले चुनावको तालिका सार्वजनिक गरेको छैन । त्यतिमात्र होइन, स्ववियु निर्वाचन समितिको अध्यक्ष रेक्टर हुने व्यवस्था छ, तर रेक्टर पद हाल रिक्त छ । त्यसैले स्ववियु निर्वाचन फागुन १४ गते नहुने भएको हो ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापाका अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले समय मागेकाले स्ववियु चुनावको कार्यतालिका ननिकालिएको बताए ।

नेविसंघको वर्तमान नेतृत्वले भने आफूहरुको परामर्शविना तोकिएको स्ववियु चुनावको मिति मान्य नहुने भनेकाले पनि फागुन १४ को मिति टर्ने निश्चित छ । नेविसंघ अध्यक्ष ढुंगानाले त्रिविले सबैको सहमतिमा चुनावको नयाँ मिति तोक्नुपर्ने बताए । उनले त्रिवि स्ववियु चुनाव गराउन गम्भीरतापूर्वक नलागेको आरोपसमेत लगाए ।

आन्तरिक विवादका कारण एक वर्षसम्म नेतृत्वविहीन भएको नेविसंघको तदर्थ समिति यही माघ १६ गते गठन भएको थियो । तदर्थ समितिका पदाधिकारी र नेकपा सम्बद्ध अनेरास्ववियूका शीर्ष नेतृत्वबीच बुधबार स्ववियु चुनावको विषयमा छलफल भएको थियो ।

छलफलमा नेविसंघको तर्फबाट अध्यक्ष राजीव ढुंगाना र महामन्त्री मनोज वैद्य तथा अनेरास्ववियूको तर्फबाट संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ सहभागी थिए । सो छलफलमा नेविसंघ अध्यक्ष ढुंगानाले आफूहरुलाई तयारी गर्नुपर्ने भन्दै दुई महिना समय मागेको अनेरास्ववियूका नेताहरु बताउँछन् ।

२०७५ सालमै हुनुपर्ने चुनाव नेविसंघको आन्तरिक विवादका कारण हुन सकेको थिएन । २०७३ सालमा भएको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली अवलम्वन गरिएको थियो ।अनलाइनखबर

तपाईको प्रतिक्रिया