Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, २३ माघ । सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी ती चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । उनीहरुले आफ्नो उद्दार नगरेकोमा सरकारको आलोचना गरिरहेका छन् ।

तर सरकारले भने स्वदेश फर्काएपछि राख्ने ठाउँ तयार नभइसकेको भन्दै ढिलाइ गर्दै आएको थियो ।

नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति समग्र तयारीमा जुट्न सम्वद्ध मन्त्रालय र निकायहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको थापाले बताए ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत उच्च अधिकारीहरु सहभागी थिए ।

थापाले भने ‘विशेष बैठकमा प्रधानमन्त्रीज्यूले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गर्नुभएको छ ।’

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा गराएका थिए ।

यसैबीच नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया