Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, २२ माघ  । बालुवाटार स्थित ललिता निवासको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका सांसद विजयकुमार गच्छदार स्वतः निलम्वित भएका छन्।

तत्कालीन भौतिक पूर्वाधार मन्त्रीका रुपमा ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्न मुख्य भूमिका खेलेको ठहरसहित अख्तियारले मुद्दा चलाएपछि गच्छदार प्रतिनिधि सभा सांसदबाट स्वतः निलम्वित भएका हुन्।

अख्तियारले १७५ जना अन्यविरुद्ध दायर गरेको मुद्दामा गच्छदार पनि जोडिएपछि अब उनले प्रतिनिधि सभामा सहभागी हुन पाउने छैनन्। यो मुद्दाको अन्तिम किनारा नलागेसम्म गच्छदारको सांसद पद स्वतः निलम्वन भएको हो।

अख्तियारले दाबी गरे अनुसार अदालतको अन्तिम फैसलामा गच्छदार दोषी ठहरिए उनले राजनीतिमा फर्किन पनि पाउने छैनन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पदमा रहेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेपछि अन्तिम किनारा नभएसम्म स्वत निलम्बन हुने व्यवस्था छ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदार कांग्रेसबाट पटक पटक मन्त्री भएका थिए। यसअघि भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएसँगै कांग्रेस नेताहरु खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता र गोविन्दराज जोशीको राजनीतिक जीवन करिब समाप्त भएको थियो।

नेपालको राजनीतिक दलसम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ। यो मुद्दाको किनारा नलागेसम्म गच्छदारले कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवार हुने ढोका पनि बन्द भएको छ।

तपाईको प्रतिक्रिया