Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २० माघ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा जुटेको छ। नेविसंघले स्ववियु निर्वाचनको वातावरण बनाउन त्रिभुवन विश्वविद्यालयलाई आग्रहसमेत गरेको छ।

एक वर्षअघि विघटन भएको नेविसंघको नेतृत्व कांग्रेस नेताबीच भागबन्डामा सहमति भएपछि शुक्रबार मात्र मनोनीत गरिएको थियो। सभापति देउवाले राजीव ढुंगानालाई अध्यक्षमा मनोनीत गरेका थिए। नेविसंघ कार्यालयमा सोमबार दुई उपाध्यक्ष र पाँच महामन्त्रीले पद ग्रहण गरेपछि बसेको पहिलो अनौपचारिक बैठकले स्ववियु निर्वाचनमा सहभागी हुने निर्णय गर्दै चुनाव निष्पक्ष र स्वतन्त्र बनाउन त्रिविको ध्यानाकर्षण गराएको छ।

‘नेविसंघले स्ववियु चुनावका लागि तत्काल रेक्टर नियुक्त गर्न माग गरेको छ। स्ववियु निर्वाचन परिचालन समितिको संयोजक रेक्टर हुने भए पनि त्रिविमा अझै रेक्टर नियुक्त भएको छैन। रेक्टर नियुक्त नहुन्जेल चुनाव हुन नसक्ने उसको ठहर छ। उसले नयाँ सदस्यता वितरण तीव्र पार्ने निर्णय गरेको छ। नयाँ सदस्यता देशभरिका सबै क्याम्पस र विद्यालयमा वितरण गरिने महामन्त्री कुँवरले जानकारी दिइन्।

१ सय २७ सदस्यीय नेविसंघमा अध्यक्षसहित सात महामन्त्री र दुई उपाध्यक्ष मात्र मनोनीत भएका छन्। चार उपाध्यक्ष, एक महामन्त्री, ६ सहमहामन्त्री, एक कोषाध्यक्षसहित केन्द्रीय सदस्य मनोनीत हुन बाँकी नै छ। १२ औं महाधिवेशनदेखि ३२ बर्से उमेरहद लागू हुने भएकाले अहिलेको कार्यसमितिमा मनोनीत हुने आकांक्षी धेरै भएपछि नेताहरूले कार्यसमितिलाई पूर्णता दिन सकेका छैनन्। नेविसंघले कार्यसमितिलाई यथासक्य चाँडो पूर्णता दिन पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतासँग आग्रह गर्ने महामन्त्री कुँवरले बताइन्।

उपाध्यक्षद्वय तुलसा पन्त र मुक्तिराज पौडेल, महामन्त्रीहरू दीपक भट्टराई, उर्मिला थपलिया, प्रभातकुमार दाहाल, बलदेव तिमिल्सिना र युवराज पाण्डेले सोमबार पदभार ग्रहण गरेका थिए। अध्यक्ष ढुंगाना, महामन्त्रीद्वय मनोज वैद्य र महेश्वरी कुँवरले आइतबार पदभार ग्रहण गरेका थिए।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया