Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, १९ माघ । प्रधानमन्त्री केपी ओलीले चीनबाट फर्काइने नेपालीलाई राख्ने स्थानको व्यवस्था गर्न निर्देशन दिएका छन्। उनीहरूलाई कहाँ राख्ने, कसरी सम्बोधन गर्ने भन्ने विषयमा बढी केन्द्रित हुन र चीनमा रहेका नेपालीबारे पनि नियमित जानकारी लिन प्रधानमन्त्री ओलीले भनेका हुन्। यसबारे उनले स्वास्थ्य, परराष्ट्र, गृह, रक्षा, पर्यटनलगायत सरोकारवाला मन्त्रालयका मन्त्री एवं सचिवहरूलाई एकै स्थानमा राखेर छलफल गरेका थिए। उनले चीनमा कोरोना भाइरसको महामारी र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका थिए।

नेपालीलाई फर्काउन प्रक्रिया सुरु भएपछि प्रधानमन्त्रीले क्वारेन्टाइन चेक, अस्पितालमा राख्न पर्दाको अवस्था तथा उच्च सतर्कताको तयारीलगायत विषयमा चासो देखाएका हुन्। विमानस्थलमा तयारीलगायत विषयमा पनि उनले जानकारी लिँदै सुधार र उच्च सतर्कताका लागि निर्देशन दिए। चीनमा रहेका नेपालीको पीडा थाहा पाएपछि प्रधानमन्त्रीले बैठक राखेका हुन्। चीनबाट नेपालीहरू तत्काल नेपाल फर्किन खोजे पनि यहाँबाट चासो नदिइएको धारणा आएपछि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई आफ्ना नागरिकप्रति जिम्मेवार रहन निर्देशन दिएका हुन्।

उनीहरूलाई स्वदेश ल्याउँदा के गर्नुपर्ने हो र ल्याएर १४ दिनसम्म कहाँ राख्ने त्यो तय गर्न उनले निर्देश गरे। ‘आइसोलेसन’मा राख्नुपर्ने नागरिकका लागि अस्पताल र त्यसअघि क्वारेन्टाइन व्यवस्थामा लाग्न पनि उनले सुझाए। मास्क एप्रोनको तयारी गर्न पनि उनले निर्देशन दिए। उनले चीन सरकारसँग प्रत्यक्ष सम्पर्कमा रही सहकार्यमा काम अघि बढाउनुपर्ने बताएका थिए।

 

तपाईको प्रतिक्रिया