Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, १८ माघ । सरकारले दुर्घटनाग्रस्त सडक र क्षेत्रहरुको अवस्था सुधार गर्न अध्ययन थालेको छ । सडकको दुरावस्थाका कारण हुने दुर्घटना कम गर्न सरकारले अध्ययन सुरु गरेको हो ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाका अनुसार ठूला दुर्घटना भइरहेका राजमार्ग र दुर्घटनास्थलमा ट्राफिक प्रहरी र विज्ञसहितको टोलीले अध्ययन सुरु गरेको छ ।

‘सिन्धुपाल्चोकका दुर्घटनाग्रस्त क्षेत्रबाट हामीले अध्ययन थालेका छौं,’ उनले भने, ‘अब बीपी राजमार्ग र पूर्वपश्चिम राजमार्गका विभिन्न स्थलहरुको पनि अध्ययन गरेर दुर्घटना कम गर्ने उपाय खोज्छौं ।’

यो कामका लागि उपमहानिर्देशक सापकोटाको नेतृत्वमा टोली खटिएको छ । टोलीले काभ्रे, सिन्धुली, सुनसरी, धादिङलगायतका क्षेत्रका सडकको अवस्था हेरेर सुधारका लागि गर्नुपर्ने कामबारे सिफारिस गर्नेछ ।

गत मंसिर २९ गते सिन्धुपाल्चोकमा १५ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका थिए ।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सहभागी बैठकमा प्रधानमन्त्री ओलीले सवारी दुर्घटना घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिएपछि सरकारले सुरुवाती कदमहरु चाल्न सुरु गरेको हो ।

सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने भन्दै प्रधानमन्त्री ओलीले चालकहरुलाई तालिम, लाइसेन्सको पुनःपरीक्षण, सडक पूर्वाधारको सुधार र प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न भनेका थिए । हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणहरुको छानविन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।

अहिले सरकारले दुर्घटना घटाउन विभिन्न उपायको खोजी भइरहेको बताएको छ । यातायात व्यवस्था विभागले चालकको अन्त ध्यान मोड्ने खालका ट्रक साहित्यलगायतका सामाग्री हटाउन निर्देशन जारी गरिसकेको छ ।

सवारी चालकलाई सहज हुने गरी सडक पूर्वाधारहरु सुधार गरेपछि दुर्घटनामा कमी आउने सडक विभागको विश्वास छ ।

दैनिकजसो हुने दुर्घटना र त्यसमा मृत्यु हुनेहरुको संख्या पनि उल्लेख्य छ । देशभरमा हुने दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया