Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १७ माघ । कमजोर राज्य संयन्त्रले गर्दा नेपाल विदेशीका लागि अवैध क्रियाकलाप गर्ने अखडा बनेको बेला विमानस्थल अध्यागमन विभागका कर्मचारीको सेटिङमा मानव तस्कर हुने गरेको खुलासा भएको छ ।

गएको असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना नेपालीले नक्कली क्यानडाको भिषा लगाएर चीनको ग्वान्जाओ हुँदै क्यानडा उडे । त्यसरी नक्कली भिषा लगाएर सिर्जन गौतम, निरन्जन पराजुली र प्रकाश भुसाल क्यानडाका लागि उडेका थिए ।

उनीहरु तिनैजनालाई अध्यागमनका अधिकृतले ‘डिपाचर स्ट्याम्प लगाएर पठाए । उनीहरु नेपालबाट ग्यान्जाओ पुगे, त्यहाँ उनीहरुको ट्रान्जिट’ थियो । नेपालको अध्यागमनबाट सहजै पार गरेको ती तीनजनालाई चीनको अध्यागमनले ‘नक्कली भिषा रहेको’ भन्दै नेपाल फिर्ता गरिदियो ।

यस्तै केही समयअघि नेपालकै विमानस्थलबाटै २ जना इरानी नागरिकले क्यानडाको नक्कली भिषा प्रयोग गरी भारत हुँदै बेलायतसम्म पुगेका थिए । उनीहरु पनि नक्कली भिसाबाटै नेपालबाट उडेको कुरा बेलायत पुगेपछि त्यहाँको प्रहरीले पत्ता लगायो । अनि नेपाललाई खबर गर्यो ।

त्यस्तै गत असोज ३० गते सम्पन्न भएको एनआरएनको चुनावमा ‘अपराधिक पृष्ठभूमि’का तीनजना नेपाली नागरिक नेपाल आए । अध्यागमन विभागका कर्मचारीको सेटिङमा उनीहरु नेपाल आएका थिए । विदेशमा लुकेर बसेका उनीहरु प्रहरीको खोजी सूचीमा थिए । तर, अध्यागमनका कर्मचारीले प्रहरीलाई सुइँको समेत दिएन ।

जानकारहरुकाअनुसार यस्ता घटना बाहिर नआउनुमा विभिन्न कारणहरु छन् । त्यसमा सबैभन्दा बढी अध्यागमकै कर्मचारीको कमजोरी देखिन्छ । एक त नक्कली भिषा भएको थाहा हुँदाहुँदै सेटिङ गरी पठाउनु र अर्को नक्कली भिषा छुट्याउन नै नसक्नु ।

विमानस्थलको अध्यागमनमा रहेको कतिपय कर्मचारीलाई सुरक्षा सम्वन्धी पर्याप्त ज्ञान नहुनु र उनीहरुले सुरक्षाकोबारे र भिषादेखि अपराधी आवतजावत के कसरी गर्छन भन्ने कुरा थाहा नपाउनु अर्को मुख्य कमजोरी हो ।

योग्यता र क्षमताभन्दा पनि बढी भनसुन, दवाव र नातागोताका आधारमा छानिने सौभाग्य पाएका कारण अध्यागमनका अधिकांश कर्मचारीलाई सुरक्षासम्बन्धी ज्ञान नभएको गृह मन्त्रालय स्रोतको दावी छ । ‘अध्यागमनमा सुरक्षा बुझेको योग्य मान्छेलाई मात्र पठाउनुपर्ने’ पूर्वएआईजी नवराज ढकालको भनाइ छ ।

गृह मन्त्रालयले अध्यागमनमा खटाएको थुप्रै व्यक्तिहरु ‘अपराधी गतिविधिहरुका बारेमा अनभिज्ञ रहेको’ ढकालको दावी छ । उनले भने, ‘सुरक्षा बुझेको व्यक्तिले देखेको भरमा अपराधी चिन्छ ।’

प्रहरीले अपराधी गतिविधिका तथा पर्याप्त कागजपत्रहरु नभएका व्यक्तिलाई विदेश नपठाउन अध्यागमनका कर्मचारीलाई ताकेता गरिरहँदा पनि उनीहरुले मोटो रकम लिएर विदेश पठाइरहने गरेको कुरा माथिका तीन घटनाले पनि पुष्टि गर्छ । तर, पनि गृह मन्त्रालय यसबारेमा मौन छ ।

स्रोतका अनुुसार विभिन्न अपराधिक गतिविधिमा संलग्न र प्रहरीको खोजी सूचीमा रहेका मानिस सहजै विमानस्थल प्रयोग गर्दै विभिन्न देश जानेका गरेका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा अध्यागमकै एक कर्मचारीले रातोपाटीलाई भने, प्रहरीले रोक्नु भनेका मान्छेलाई कतिपय साथीले मिलाएर पठाएका हुन्छन् । उनले थपे, बकाइइदाका साथ विमानस्थलबाट कतै जान खोजेमा प्रहरीलाई खबर गर्नु भनेको मान्छेलाई बाहिर पठाउने मात्र हैन, बाहिर लुकेकाहरु पनि सेटिङमै भित्रिने गर्छन् ।’

उनका अनुसार त्यस्ता आन्छे आउने वा जाने बेला अध्यागमनका कर्मचारीले चेकजाँच गर्ने मेसिनको ‘सिस्टम डाउन’ गर्ने गरेको समेत गर्छन् । सर्भरमा ती व्यक्तिको नाम हुन्छ । तर, त्यतिबेला अध्यागमनका कर्मचारीले प्राविधिक कारणले बिग्रिएको भन्दै ‘सिस्टम डाउन’ गर्ने गर्छन् ।

भन्सार र अध्यागमनको चेकजाँचपछि बाहिर निस्किएको व्यक्ति प्रहरीको निगरानीमा रहने विमानस्थलका एक प्रहरी अधृकतले रातोपाटीलाई जानकारी दिए । ‘सुराकीको आधारमा मात्र काम गर्ने हो,’ ती प्रहरी अधिकृतले भने, ‘शंकास्पद लागेको आधारमा ती व्यक्तिलाई फलो गर्छौं र समात्छौं ।’

पछिल्लो समय सेटिङमा मान्छेहरु विदेश पठाउन थालेपछि अध्यागमनका कर्मचारीलाई ‘मानव तस्कर’को नामले आरोपित हुन थालेका छन् ।

२०७५ फागुन १७ गते अध्यागमनको सेटिङमा अफ्रिकी राष्ट्र मरिसिस गएका ५ नेपालीलाई त्यहाँको अध्यागमनले फर्काइदियो ।

नेपालका अध्यागमन कर्मचारीले नै फागुन ७ मा ती ५ युवालाई कागजपत्र नमिलेको भन्दै फर्काइदिएका थिए। तर, त्यसको एक सातापछि पुरानै कागजपत्रका आधारमा अध्यागमन कर्मचारीले उनीहरूलाई उडाएको खुल्न आएको थियो ।

फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको अध्यागमनले प्रवेश दिएन ।

मरिसस प्रहरी र अध्यागमनका कर्मचारीले धेरैबेर केरकार गरेपछि पाँचै जनालाई सोही दिन दुबई हुँदै नेपाल फिर्ता गरिदियो । उनीहरू पर्यटक भिसामा फागुन १६ गते काठमाडौँबाट दुबई हुँदै अफ्रिकी मुलुक मरिसस गएका थिए ।

सुरुमा प्रस्थान अनुमति नदिएका ५ जनालाई के कारणले पुरानै कागजपत्रका आधारमा प्रस्थान अनुमति दिइयो भन्दै अध्यागमनका कर्मचारीको चर्को आलोचना समेत भएको थियो ।

केही समयअघि मात्र भन्सार र अध्यागमनको चेकजाँचपछि बाहिर निस्किएका युएईबाट आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले शंका लागेपछि ठमेलबाट लागूऔषधसहित पक्राउ गरेको उदाहरण पनि छ ।

अध्यागमनको चरम लापरबाही हुँदा पनि गृह मन्त्रालय बेखबर जस्तै छ ।रातोपाटी

तपाईको प्रतिक्रिया