Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

अनलाइनबिचार
काठमाण्डौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा विभिन्न समूहका टोली नेताले छलफलका निष्कर्ष सुनाउने क्रममा सम्पत्ति छानविन आयोग गठनको माग गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा तीनै तहका सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न आयोग गठनको माग गरिएको हो ।

त्यस्तै कम्तीमा केन्द्रीय कमिटी सदस्य तहका नेताहरु श्रम र उत्पादनसँग जोडिने नीति बनाउन नसकिए समाजवाद होइन दलाल पुँजीवादको बाटोमा जाने खतरा बढेको नेताहरुको भनाइ छ ।

राष्ट्रियसभा गृहमा जारी बैठकमा शुक्रबार चारवटा समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए । त्यसक्रममा पारदर्शिता, सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने र कतिपयको आवश्यक परे सम्पत्ति छानविननै हुनुपर्ने कुरा आएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए । समूह ११ का टोली नेता लेखनाथ न्यौपानेले आयोग गठनको प्रस्ताव राखेका थिए ।

तीन तहका सरकारका कामको मुल्यांकन हुनुपर्ने र जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कुरा बैठकमा गम्भीर रुपमा उठेको छ । राजकीय पदमा जानेहरुको सम्पत्ति छानविन गर्ने र अवसरहरु न्यायोचित रुपमा वितरण हुनुपर्ने माग केन्द्रीय कमिटी बैठकमा उठेको छ ।
शुक्रबारको बैठकमा टोली नेताहरु भगवती चौधरी, दिनानाथ शर्मा, लेखनाथ न्यौपाने र कमला रोक्काले आआफ्नो समूहमा छलफलका क्रममा आएका सुझाव प्रस्तुत गरेका थिए । प्रायः सबै टोलीबाट एकै खालका सुझाव आएको र अनुशासन आयोगले नसके अर्को आयोग गठन गरेर भने पनि गलत प्रवृतिलाई कारवाही गर्नुपर्ने माग उठेको सुनुवारले बताए ।

न्यौपानेले छलफलका सुझाव प्रस्तुत गर्दै भने ‘पार्टीमा नवधनाड्य वर्गको उदय हुँदै जानु कम्युनिस्ट आन्दोलनका लागि गम्भीर चुनौती हो । आधारभूत वर्गबाट पार्टी टाढिदै जाने अवस्था आउनु भनेको पार्टी विघटनतिर जाने हो । त्यसैले सम्पत्ति छानविन गर्ने शक्तिशाली आयोग बनाउनुपर्छ ।’

एमसीसीका सन्दर्भमा भने केन्द्रीय कमिटीमा बहुमत अल्पमतका आधारमा निर्णय गर्नुभन्दा पनि विज्ञहरु सहितको कार्यदल बनाएर पार्टीको एउटै धारणा लैजानुपर्ने सुझाव प्रस्तुत भएको सुनुवारले बताए । उनले एमसीसीलाई धेरै विवादित नबनाई पार्टीले जिम्मेवार ढंगले निकाल्नुपर्ने सुझाव नै आएको जानकारी दिए ।

त्यस्तै नेकपा केन्द्रीय कमिटीमा विभिन्न स्वर्गीय नेताहरुका नाममा गठन गरिएका प्रतिष्ठान विघटनको माग पनि उठेको छ । समूहगत छलफलका विषय प्रस्तुत गर्ने क्रममा स्वर्गीय नेताका नाममा पार्टीिभत्र गुट चलाउने घर बनेका प्रतिष्ठानहरु खारेज गर्नुपर्ने प्रस्ताव राखिएको हो ।
समूहगत छलफलबाट पार्टीको आचारसंहिता सचिवालय तहकै नेताबाट लागु हुनुपर्ने सुझाव प्रस्तुत भएको अर्का केन्द्रीय सदस्य विष्णु रिजालले बताए । छलफलका निष्कर्ष प्रस्तुत गर्ने क्रममा स्थायी कमिटी सदस्य दिनानाथ शर्माले नेताहरुले कुनै विषयमा बोल्नुअघि पार्टी बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया