Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १७ माघ । नेपाल प्रहरीको सई हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप जिल्ला, मन्थली नगरपालिका–२, टेकनपुरका २६ वर्षीय राजु कार्कीलाई ठगी आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हाल काठमाडौँको बसुन्धारामा बस्दै आएका कार्कीले आफूलाई नेपाल प्रहरीको सई हुँ भन्दै सोझा व्यक्तिहरुलाई लक्षित गरी ठगी धन्दा गर्दै आएका थिए ।

ठगीको नयाँ तरिका

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कार्कीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ घर भइ हाल काठमाडौँको मनहरा बस्दै आएका लक्ष्मण गिरीलाई ठगी गरेका हुन् । योसँगै ठगीको नयाँ शैलीसमेत प्रकाशमा आएको छ ।

कार्कीले आफू सई रहेको र एयरपोर्टमा कार्यरत रहेको भन्दै गिरीको खातामा ३० लाख रुपैयाँ जम्मा गरिदिने आश्वासन दिएका थिए । आर्थिक रुपमा सङ्कटमा रहेका गिरीले उनको कुरालाई सहजै विश्वास पनि गरे ।

आफ्नो बैङ्क खातामा धेरै रकम जम्मा रहेको र कतैबाट छानबिन भएमा आफू अप्ठ्यारोमा पर्न सक्ने भन्दै उनले गिरीलाई आफ्नो ३० लाख रुपैयाँ राखिदिन प्रलोभन देखाएका थिए ।

‘एयरपोर्टमा रैछ, कमायो पनि होला, भ्रष्टाचारबाट बच्न मेरो खातामा रकम हालिदिन लागेको हो भन्ने विश्वास पीडितलाई भयो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘तपाईंको खातामा ३० लाख हालिदिन्छु, तपाई त्यसबाट १० लाख रुपैयाँ चलाउनु होला, बाँकी रकम खातामै सुरक्षित होस् भनेर विश्वास दिलाएको रहेछ ।’

बैङ्क ट्रान्जेक्सन देखाउनका लागि भन्दै कार्कीले गिरीलाई तीन लाख रुपैयाँको चेक काट्न लगाए । सोही अनुसार आफ्नो खातामा ३० लाख जम्मा हुने प्रलोभनमा गिरीले कार्कीको नाममा तीन लाख रुपैयाँको चेक काटिदिए ।

बैङ्कको एउटै शाखाबाट उक्त रकम निकाल्न नमिल्ने भन्दै कार्कीले गिरीलाई चाबहिलस्थित नेपाल बैङ्क लिमिटेडको शाखामा लगेर अलपत्र छाडिदिए भने आफू सोही बैङ्कको कालीमाटीस्थित शाखामा आएर गिरीको खाताबाट तीन लाख रुपैयाँ निकालेर फरार भए ।

पटक–पटक ठगी

पीडित लक्ष्मण गिरीको उजुरीका आधारमा प्रहरीले कार्कीको खोजी ग¥यो । अन्ततः बिहीबार अपराह्न ५ बजे कलङ्कीमा प्रहरीले उनलाई फेला पा¥यो ।

अनुसन्धानका क्रममा प्रहरीले कार्की पटक–पटक ठगी काण्डमा सक्रिय रहेको तथ्य फेला पारेको छ । उनले २०७२ सालतिर पेट्रोलियम पदार्थको अभाव भएको समयमा ग्यास तथा पेट्रोलको प्रवन्ध गरिदिन्छु भन्दै कयौँलाई ठगी गरेको प्रहरीको भनाइ छ ।

२०७२ चैत २८ गते उनीविरुद्ध ठगी मुद्दा चलेको थियो भने ६ महिना कैद भुक्तान गरी उनी २०७३ सालमा ६८ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

ठगीको रकमबाट किनमेल र बाइक मर्मत

कार्कीले गिरीलाई ठगेर लिएको तीन लाख रुपैयाँबाट किनमेल र बाइक मर्मत गराएका थिए । प्रहरीका अनुसार चितवनस्थित एउटा विवाहमा सहभागी हुनका लागि उनले सोही रकमबाट पोशाक खरिद गरेका थिए ।

यस्तै, उनले आफ्नो मोटरसाइकल मर्मत गराएको र केही रकम ठमेलमा गएर खर्च गरेको पाइएको छ ।

प्रहरीले उनको साथबाट नगद ७ हजार ५०० रुपैयाँ, एउटा मोटरसाइकल, एक थान मोबाइल, सवारी दर्ता किताव, एउटा हेल्मेट बरामद गरेको छ ।

महाशाखाको टोलीले आवश्यक कारवाहीका लागि कार्कीलाई महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको जनाएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया