Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

विराटनगर, १५ माघ । झापा बिर्तामोडका एक युवकको हत्या गरी मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा शव फालेको खुलेको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा विभत्स अवस्थामा शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा शव झापा बिर्तामोड घर भएका २० वर्षीय अभिषेक कट्वालको हत्या भएको खुलेको हो । उनी माघ ९ गते घुम्न भन्दै मे१०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका थिए ।

उनको शव विराटनगर महानगरपालिका-४ र सुनसरीको दुहबी नगरपालिका- १२ सिमाना भएर बग्ने केसलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो ।

प्रहरी स्रोतले युवकको विराटनगर महानगरपालिका-४ मा हत्या गरी केसलीया खोलापारि फालेको हुनसक्ने बताएको छ । तर, उनको कहिले हत्या भएको हो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार कट्वाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाडै र्फकने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो ।

सम्पर्कविहीन भएपछि आमा तारा कटुवालले छोराको हुलियासहित खोजतलासका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएकी थिइन् ।

सुनसरी प्रहरी प्रमुख, एसपी यज्ञविनोद पोखरेलले युवकको पहिचान खुलेको बताए । पहिचान खुलेका कारण अनुसन्धान गर्न केही सहज भएको उनको भनाइ छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया