Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १४ माघ । सरकारले पूर्वीनाका काँकडभिट्टामा कोरोना भाइरसको जाँचका लागि आज साँझ ‘हेल्प डेस्क’ स्थापना गरेको छ । भन्सार विन्दुमा स्थापना गरिएको ‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा र खोकी जाँच गरिनेछ ।

भारत, भूटान, बङ्गलादेश र म्यानमारबाट नजिकमा रहेको नाका भएको कारण काँकडभिट्टाबाट दिनहुँ सयौं विदेशी नेपाल प्रवेश गर्ने भएकाले उक्त नाकामा उच्च सतर्कता अपनाइएको हो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुईजना स्वास्थ्यकर्मीलाई बिहान ७ देखि बेलुका ७ बजेसम्म खट्ने गरी ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको जानकारी दिए । सो कार्यमा सुरक्षाकर्मीले सहयोग पु¥याउने छन् ।

‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भएको शङ्का भएमा नाकामा खटिएका स्वास्थ्यकर्मीले नजिकै रहेको काँकडभिट्टा स्वास्थ्यचौकीमा रहेको ‘आइसोलेसन रुम’मा पठाउने र उनीहरुको विस्तृत स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए ।

काँकडभिट्टा स्वास्थ्यचौकीका प्रमुख तालबहादुर खड्काको नेतृत्वमा ‘हेल्प डेस्क’ र आइसोलेसन वार्डको विशेष निगरानी गरिने छ । ‘हेल्प डेस्क’ शुरुवात गर्न आयोजित कार्यक्रममा मेचीनगरका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीलगायतले खुल्ला सीमा भएकाले भाइरसको सङ्क्रमण बढ्ने हुँदा नाकामा उच्च सतर्कता जरुरी भएको बताए  ।रासस

तपाईको प्रतिक्रिया