Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

विराटनगर, १४ माघ । मोरङ र सुनसरीको सीमाना भएर बग्ने केसलिया खोला नजिकै मंगलबार एक युवाको विभत्स हत्या गरी फ्यालेको अवस्थामा शव फेला परेको छ। विराटनगर महानगरपालिका ४ र सुनसरीको दुहवी नगरपालिका १२ बुकडोरीको सीमाना छेउमा शव भेटिएपछि सुनसरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

बुकडोरीतर्फ नाङ्गो अवस्थामा शव भेटिएको हो । सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले ढुंगा, इँटा वा कुनै वस्तुले टाउको र अनुहार कच्याककुचुक गरी चिन्नै नसक्ने बनाएको अवस्थामा शव फेला परेको जानकारी दिए ।

उनकाअनुसार माटो र परालले छोपेको तथा खुट्टा बाहिर देखिएको अवस्थामा पहिचान नखुलेका युवाको शव सानो खाल्डोमा रहेको जानकारी प्रहरीलाई आएको थियो । त्यहाँ बाँधिएको पराल र माटो थुपारिएको छ ।

बाँस झ्याङ नजिकै रहेको घटनास्थलमा वरपर लतपतिएको रगतका टाटाहरु छन् । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको मखलर (गलबन्दी) को टुक्रा बाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

हत्या गरेर फ्यालिएका अन्दाजी २०÷२५ वर्षको जस्तो देखिने मधेसी मुलका युवाको पहिचान भने हुन नसकेको एसपी पोखरेलले बताए । उनले शरीरका केही भाग सड्न लागेको अवस्थामा शव भेटिएका कारण घटना दुई÷तीन दिन अघिको हुन सक्ने आशंका गरिएको जनाए ।

शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर गम्भीर ढंगले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी एसपी पोखरेलले दिए ।
हत्या गरिएका युवाको पहिचान नै नभएका कारण घटनामा संलग्नका बारेमा पनि यकिन हुन नसकेको उनको भनाइ छ । घटनाको प्रकृति हेर्दा कुनै रिसिईबीका कारण केही न केही नियत राखेर हत्या गरे जस्तो देखिने उनले बताए ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया