Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

अनलाइनविचार संवाददाता
गौरीगंज, १० माघ । दक्षिणी क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उदेश्यले निर्माण गरिएको गौरीगंजको खजुरगाछी अस्पताल हाल सम्म पनि संचालनमा आएको छैन।

गौरीगञ्ज गाउँपालिका वडा नं. ६ मा अस्पताल भवनको निर्माण कार्य सम्पन्न भएको एक वर्ष बितिसक्दा समेत संचालनमा आउन सकेको छैन।खजुरगाछीमा २५ सैयाको अस्पताल भवन बनिसक्दा समेत सञ्चालनमा नआए पछि उपचार गराउन बिरामीहरुले अन्य ठाउमा जानुपरेको छ।

२०६६ सालमा ठेक्का लागेर निर्माण सम्पन्न भएको भवनको करिब तीन बिघा जग्गाको क्षेत्रफलमा रहेको छ।स्तरीय उपचारको समस्या भोगिरहेका दक्षिणी क्षेत्रका बासिन्दाहरुका लागि यो अस्पताल संचालनमा आउदा उपचारकालागि सहज हुने स्थानीय बासिहरु बताउछन।दक्षिणी क्षेत्रका बासिन्दाहरु स्तरीय उपचारका लागि ठुला सहरका अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ।

स्थानीय बासिहरुले नयाँ अस्पतालबाट सेवा सुरु गर्न र नागरिकहरुलाई उच्चस्तरको स्वास्थ्य सेवा दिनआग्रह गर्दै आएका छन। अस्पताल भवन बनेर पनि संचालनमा नआउदा ईमर्जेन्सी बिरामीहरुले यस क्षेत्रमा सेवा पाउन नसक्दा पैसा खर्च गरेर अन्य अस्पताल धाउदा बिरामीले जोखिम ब्योहर्नु पर्ने बाध्यता रहेको स्थानीय रेखा शाहले बताईन।

नेपाल सरकारले करोडौँ रुपैयाँको लागतमा अस्पताल भवन बनाए पनि उपचार सेवा दिनुको साटो ताला लगाएर राख्नु हाम्रा लागि दुर्भाग्य रहेको बताईन। अस्पताल भवन बनेर संचालनमा नआउदा रेखदेखको अभावमा बाहिरी भागमा रङ रोगन उकिन थालेका छन् भने झ्यालका सिसाहरु फुट्न थालेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीलाई स्तरोन्नति गरी २५ सैयाको अस्पताल सञ्चालनमा ल्याई बिरामीहरुलाई स्वास्थ्य सेवा दिन अस्पताल भवन निर्माण गरिएको हो । ३ करोड ६२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको अस्पताल भवन परिसर अहिले गौचरन भएको छ।

२०६६ सालमा पुष्पाञ्जलि शंकरमाली कुनसालिङ जेभी प्रालिले भवन निर्माणका लागि जिम्मा पाएको थियो। सहरी डिभिजन कार्यालयले सो भवन गाउँपालिकालाई गत वर्ष हस्तान्तरण गरेको थियो। अस्पतालसँगै बनाइएको शव परीक्षण गृह खण्डहर बनिसकेको छ।

गौरीगञ्ज गाउँपालिका–६ का अध्यक्ष बद्रीनारायण यादवले अस्पताल सञ्चालनका लागि घेरा बारा निर्माण गर्न नसक्दा उक्त अस्पताल सञ्चालनमा आउन नसकेको बताउँछन। गौरीगंज गाउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले अस्पताल सञ्चालनमा नआउँदा स्थानीयबासिहरुले आक्रोश व्यक्त गर्ने गरेको बताए।

अस्पतालसम्म पुग्ने सडक निर्माण कार्य भईरहेकाले तत्काल अस्पताल सञ्चालनमा आउन नसकेको अध्यक्ष श्रेष्ठले बताए । घेराबारा निर्माण गर्न संघीय सरकारसँग बजेट माग गर्ने र नआए गाउँपालिकाको क्षमताअनुसार घेराबारा गरेर यस आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने प्रमुखको भनाई छ।

तपाईको प्रतिक्रिया