Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं,१० माघ । प्रतिनिधिसभाको सभामुखका उम्मेद्वार तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

‘कर्तव्य ज्यान’ मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशको मागसहित अदालतमा मुद्दा दर्ता गरिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले कर्तव्य ज्यान मुद्दाका अभियुक्त रहेका सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि मागदाबी गरेका छन् ।

माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा गर्ने कार्यसूची छ । यद्यपि, वरिष्ठ अधिवक्ता त्रिपाठीले संसदको प्रक्रियाभन्दा अगाडि नै सापकोटालाई सभामुख चयन गर्ने प्रक्रिया स्थगित गर्न अन्तरिम आदेशको मागदाबी गरेका हुन् ।

विगतमा सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको थियो । १७ वैशाख २०६२ मा ‘माओवादी कार्यकताको अपहरणमा परेका’ भनिएका लामाको २ महिनापछि काभ्रेकै बुढाखानीको चारकिल्ला भन्ने ठाउँमा शव फेला परेको थियो ।

मृतक लामाकी श्रीमती पूर्णमाया लामाले ७ मंसिर २०६९ मा सापकोटासहितका माओवादी नेता कार्यकर्ताविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया