Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

विराटनगर, ९ माघ । उच्च अदालत विराटनगरमा आफू विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका बेला बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी बिहीबार दिउँसो भारततिर लागेका छन् ।

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल-भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ हिँडेका हुन् ।

सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन् । उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो । स्रोतकाअनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हवल्दार साह अन्योलमा परेका छन् ।

केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए । अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पार गरेका हुन् । जतिबेला उनी विरुद्धको मुद्दाको सुनुवाई अदालतमा जारी थियो।

हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइयो,ु मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, उनी किन उता लागे भन्ने बारेमा यकिन भइसकेको छैन ।ु

स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो । सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए । त्यसकै फलोअपुका लागि फेरि गएको उनी निकट स्रोतले बतायो ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सुनुवाईपछि आउने अदालतको आदेशको पर्खाइमा उनी रहेको स्रोतको दाबी छ । आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर लागेको बताइएको छ । आफ्नो पक्षमा आदेश आएमा नेपाल फर्किने र विपक्षमा आएमा भारततिरै रहने हिसाबको तयारी सिद्धबाबाले गरेको स्रोतको भनाइ छ ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ । गत बिहीबार नै पेसी तोकिएको मुद्दाको सुनुवाई बलात्कार पीडित भनिएकी महिलाका कानुन व्यवसायीले हटाएपछि स्थगित भएको थियो।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया