Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ९ माघ । राष्ट्रिय सभाका १८ सिटका लागि बिहीबार मतदान हुँदै छ । प्रदेशगत रूपमा सम्बन्धित प्रदेशको प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट राष्ट्रिय सभा सदस्य चुनिनेछन् ।
निर्वाचन आयोगले प्रत्येक प्रदेशको एक स्थानमा मतदान स्थल निर्धारण गरेको छ ।

प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण निधि स्मृति भवन र वागमती प्रदेशमा ललितपुर महानगरपालिका–४ को वडा समिति भवनमा मतदान हुनेछ । त्यस्तै, गण्डकी प्रदेशमा पोखरास्थित जिल्ला निर्वाचन कार्यालय परिसर, प्रदेश ५ मा दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशमा दिपायलस्थित सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदान स्थल तोकिएको आयोगले जनाएको छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले बिहान १० बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको जानकारी दिए । मतदानलगत्तै राजनीतिक दलहरूको सहमतिमा मत गणना हुने र कुनै बाधारअवरोध नआए गणना प्रारम्भ भएको एक/डेढ घण्टामा परिणाम आउने उनले बताए ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभामा त्यसरी निर्वाचित ५६ र सरकारको सिफारिसमा एक जना महिलासहित राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्य छन् । तीमध्ये एक तिहाइ (१९ जना) को दुईवर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । पदावधि सकिनेमा एक जना राष्ट्रपतिबाट मनोनीत रहेकाले सो ठाउँमा सोही प्रक्रियाबाट पदपूर्ति हुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार पहिलोपटक चुनिएका ५९ जनाको पदावधि गोला प्रथाबाट तय भएको हो । एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम छ । त्यसअनुसार राष्ट्रिय सभामा हाल रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि सकिन लागेको हो ।

अब निर्वाचित हुनेको पदावधि ६ वर्ष हुनेछ । उनीहरूले आगामी फागुन २१ गतेबाट जिम्मेवारी सम्हाल्नेछन् । राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कुल मतदाताको संख्या २ हजार ५६ छ । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित छ । यसपटक प्रदेशगत रूपमा प्रत्येक क्लस्टरबाट एकरएक जना मात्रै चुनिने भएकाले बढी मत ल्याउने व्यक्तिले चुनाव जित्ने आयुक्त दाहालले बताए । एउटै क्लस्टरबाट एकभन्दा बढी व्यक्ति चुनिनुपर्ने अवस्थामा एकल संक्रमणीय विधिद्वारा मतगणना हुन्थ्यो ।

प्रदेश १ मा महिला, दलित र अन्य समूह गरी तीन सदस्यका लागि निर्वाचन हुँदै छ । ९ जना उम्मेदवार छन् । त्यहाँ प्रदेशसभाका ९३ र स्थानीय तहका २ सय ८४ मतदाता छन् । प्रदेश २ मा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहका १/१ जना गरी चार सदस्यका लागि निर्वाचन हुन लागेको हो । ती पदका लागि ८ जना उम्मेदवार छन् । प्रदेशसभा सदस्य १ सय ७ र स्थानीय तहका २ सय ७२ जना मतदाता छन् । प्रदेश २ मा नेकपा–राजपा तथा कांग्रेस–समाजवादी अलग–अलग गठबन्धन बनाएर चुनावमा होमिएका छन् । अन्य प्रदेशमा नेकपाको सहज बहुमत देखिए पनि यहाँ दुई गठबन्धनबीचको मतान्तर धेरै फराकिलो नभएकाले चुनावी प्रतिस्पर्धा बढी देखिएको छ ।

वागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहका १/१ जनाका लागि चुनाव हुन लागेको हो । वागमतीमा ६ र गण्डकीमा ५ जना उम्मेदवार छन् । वागमतीमा प्रदेशसभाका १ सय १० र स्थानीय तहका २ सय ३८ जना मतदाता छन् । त्यस्तै गण्डकीमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १ सय ७० मतदाता छन् । प्रदेश ५ मा महिला र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य समूहका रिक्त हुने तीन पदका लागि चुनाव हुँदै छ । ती पदका लागि ९ जना उम्मेदवार छन् । प्रदेशसभाका ८७ र स्थानीय तहका २ सय १८ मतदाता छन् । कर्णाली प्रदेशमा महिला र अन्य समूहका दुई पदका लागि चार जना उम्मेदवार छन् । प्रदेशसभाका ४० र स्थानीय तहका १ सय ५८ मतदाता छन् । सुदूरपश्चिममा महिला र अन्य समूहका दुई सिटका लागि चुनाव हुँदै छ । त्यहाँ चार प्रतिस्पर्धी छन् । प्रदेशसभाका ५३ र स्थानीय तहका १ सय ७६ जना मतदाता छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया