Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

तनहुँ, ८ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने जो कसैलाई पनि कारवाही गरिने बताइन् ।

जमिनको अतिक्रमण व्यापकरुपमा बढिरहेकाले अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारले प्रयत्न गरिरहेको मन्त्री अर्यालले बताइन् । ‘जमिनको अतिक्रमण रोक्न सरकार तीव्ररुपमा लागिपरेको छ, जमिन अतिक्रमण गर्ने जो सुकै भए पनि कारवाहीको दायरामा ल्याउँछौँ’, उनले भनिन्, ‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार लागेको छ ।’ उनले दूषित दर्तालाई बदर गर्ने अभियानमा सरकार अगाडि बढेको बताउँदै जमिन अतिक्रमण गर्नेविरुद्ध जनताले सरकारलाई सूचना दिनुपर्नेमा उल्लेख गरिन् ।

मन्त्री अर्यालले लामो समयदेखि अव्यवस्थित रुपमा बसोबास गर्दै आएका पीडित जनतालाई सरकारले न्याय दिने उल्लेख गर्दै पीडितका नाममा सरकारी जग्गा व्यक्तिको नाममा गराउनेलाई सरकारले नछाड्ने चेतावनी दिइन् । भूमि व्यवस्थापन ठीक ढङ्गले गर्न यससँग जोडिएका कानून निर्माण गरिएको उनले जानकारी गराइन् । संसद्मा दर्ता भएको भूमि व्यवस्थापन विधेयक सभामुख चयन हुन नसक्दा प्रमाणित हुन नसकेको र त्यसले कानूनी मान्यता पाउन नसकेको उनले बताइन् ।

यही माघ १२ गते सभामुख चयन भएपछि भूमि व्यवस्थापन विधेयक प्रमाणित हुने र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने काम शुरु हुने मन्त्री अर्यालको भनाइ थियो । गत असोजदेखि आगामी एक वर्षको अवधिमा एक लाख अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने गरी कार्ययोजना बनाइएको मन्त्री उनले बताइन् । ‘वर्तमान सरकारले पनि भूमि व्यवस्थापन गर्न नसके भविष्यमा निर्माण हुने सरकारले भूमि व्यवस्थापन गर्ला कि नगर्ला भन्ने सर्वसाधारणमा चिन्ता व्यापक छ’, उनले भनिन्, ‘त्यसतर्फ सरकार सचेत छ ।’

मन्त्री अर्यालले मुलुकमा २७ प्रतिशत जमिन मात्रै खेतीयोग्य रहेकाले सिङ्गो जमिनलाई उत्पादनमूलक बनाउनु मुख्य चुनौतीका रुपमा रहेको बताइन् ।रासस

तपाईको प्रतिक्रिया