Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ७ माघ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको सभामुख पदमा नेकपाका नेता अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ । सापकोटालाई सभामुखमा निर्वाचित गराउनका लागि संविधानसभा अध्यक्षसमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका छन् ।

उनको समर्थनमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपा नेता लक्ष्मणलाल कर्ण रहेका छन्।

सापकोटाको विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध सभामुख बन्ने पक्का भएको छ। उनी सभामुख भएको घोषणा १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ।

सभामुखमा उम्मेदवारी दर्ताका लागि संसद सचिवालयले मंगलबार ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरेको थियो। उक्त समयमा सापकोटाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ।

कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गरेका थिए। सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो।

सभामुखमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको थियो। सभामुख पद निष्पक्ष हुने भएकाले र संसदमा नेकपाको एकल बहुमत भएकाले उम्मेदवारी नदिने कांग्रेस कार्यसमितिको मंगलबार बसेको बैठककोनिर्णय थियो

१२ गते सभामुख निर्वाचित भएको घोषणापछि रिक्त रहेको उपसभामुख पदको निर्वाचन कार्यतालिका अगाडि बढ्नेछ।

तपाईको प्रतिक्रिया