Online Bichar
शनिबार, जेठ १६, २०८३ | Saturday, May 30, 2026

झापा, ५ माघ । झापामा पशुपालन व्यावसायमा साइलेज प्रविधिले किसानलाई ठूलो राहत दिएको छ। यसबाट किसानका पशुपालन पद्धतिमा परिवर्तन गराई आधुनिकरणतर्फ रुपान्तरण हुने क्रम बढ्दो छ।

हरियो घाँसलाई खाडलमा राखेर अमिल्याइएको घाँसलाई साइलेज भनिन्छ। यो गुन्द्रक वा सिन्कीजस्तै गरेर बनाइने हुँदा यसलाई सिन्की घाँस पनि भन्ने गरिन्छ। झापामा तयारी साइलेज घाँसको प्रयोग गर्ने किसानको लागत मूल्यमा समेत कमी आई उत्पादनमा पनि वृद्धि आएको छ। यद्यपि, जिल्लामा प्रशस्त खाली जग्गा भए पनि सरकारले साइलेजका लागि चाहिने मकै लगाउने जग्गा उपलब्ध नगराइदिएको किसानको गुनासो छ।

पशुपालन व्यवसायी नरेन्द्रप्रसाद गुरागाई भन्छन्, ‘साइलेज प्रविधिको प्रयोगले पशुपालक किसानलाई फाइदा भएको छ। गाईले साइलेज घाँस खान थालेपछि दूधको मात्रा पनि बढाएका छन्। दानाको खर्च पनि भएन। ४ भागको १ भागमात्र दाना प्रयोग गर्दा हुन्छ।’

सहजतासँगै साइलेजका लागि समस्याबारे गुरागाईले भने, ‘किसानसँग प्रशस्त जग्गा छैन। महँगो जग्गा भाडामा लिएर मकैखेती लगाइरहेका छन्। बाँझै रहेका जमिनमा सरकारले किसानलाई खेती गर्न दिने व्यवस्था मिलाइदिनुपर्ने गुरागाईले बताए।

भारतको पञ्जावमा मात्र उपलब्ध हुने एडभान्टा जातको मकै झापाका कृषकले ३ वर्षदेखि व्यावसायिक रूपमा साइलेजलाई घाँसका रूपमा खुवाउने गरेका छन्। उक्त मकैको जीवनप्रति केजी नेपाली ५ सय रुपैयाँ पर्छ। प्रतिबोट २ घोघा लाग्ने गर्छ। झापाका केही किसानले साइलेज तयार गरेर पनि बिक्री गर्ने गरेका छन्।

हार्भेस्टले काटेर धुलो पारिने साइलेजका लागि झापामा ८० बिघा जग्गामा मकै लगाउँदै आएका किसानले २४ लाख केजी साइलेज तयार गर्दै आएका छन्। पशुपालन फर्म मिलेर जग्गा भाडामा लिएर मकै लगाउँदै आएका छन्।

झापामा १ करोड २० लाख तयारी साइलेज खपत हुन्छ। हाल ४ भागको १ भाग मात्र साइलेज तयार गर्न सकिएको पशुपालन व्यवसायी बताउँछन्।जिल्लाको दमकमा १० बिघा, झापा गाउँपालिकामा २५ बिघा, मेचिनगरमा १४ बिघा, बाह्रदशीमा ४० बिघा क्षेत्रफलमा किसानले विभिन्न कृषि फर्म मिलेर मकैखेती गरेका छन्। तयारी साइलेज एउटा गाईले दैनिक २० केजी खान्छ।

उक्त मकैको स्वाद अन्य मकैभन्दा गुलियो हुने भएकाले गाई, बाख्राले निकै मिठो मानेर खाने गरेको झापा पशुपालन तथा दुग्ध उत्पादन संघका अध्यक्ष एलपी सिटौलाले बताए। प्रत्येक किसानको गोठमा साइलेजको डल्ला पुर्‍याउने योजना छ। उनले भने, ‘हालसम्म मकै किसानले आफ्नै लगानीमा लगाउँदै आएका छन्। यसमा सरकारको अनुदान भइदिने हो भने किसानलाई सहज हुने र उत्पादन बढाउन पनि हौसला मिल्छ।’

झापामा हालसम्म ९५ वटा गाईभैँसी व्यवसायी र २५ वटा बाख्रा फर्म छन्। जिल्लाबाट दैनिक ३५ हजार लिटर दूध पनि उत्पादन भइरहेको छ। यद्यपि दूधको उचित मूल्यप्रति किसानको गुनासो भए पनि दूधको मूल्य नपाइरहेको अवस्थामा महँगो दानापानी किनेर खुवाउनुभन्दा साइलेज खुवाउँदा कृषकले केही मात्रामा नाफा आर्जन गरेको अवस्था छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments