Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, ४ माघ । १ करोड ३ लाख चोरीको घटनामा नेपाली काँग्रेस निकट दलित संघका केन्द्रीय सदस्य समेतको संलग्नता भेटिएको छ । भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको १ करोड ३ लाख रुपैयाँ पुस २९ गतेकैलाली प्रहरीले बरामद गरेको थियो ।

प्रहरी स्रोतका अनुसार शनिबार उक्त घटनामा संलग्न भएको आंशकामा दलित संघका केन्द्रीय सदस्य पदम नेपाली पक्राउ परेको छन् । तर, दलित संघको केन्द्रीय अध्यक्ष मिनबहादुर विश्वकर्माले भने नेपाली केन्द्रीय सदस्य नरहेको बताए ।

यसअघि सोही घटनामा बाजुरा बूढीगङ्गा नगरपालिका–१, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जहरसिंह र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।

मंसिर ४ गते नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट उनीहरूले उक्त रकम चोरी गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बस्नेतले बताए । चोरी भएको रकमबारे भारतीय राजदूतमार्फत नेपाल प्रहरीलाई पत्रमार्फत जानकारी गराइएको थियो ।

सोही आधारमा कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्डो खनेर टिनको बाकस गाडिएको अवस्थामा रकम फेला परेको हो । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया