Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २९ पुष । झापाको बिर्तामोडमा मंगलबार ‘राष्ट्रिय भाक्का दिवस’सम्पन्न भएको छ। कोच राजवंशी समुदायले पुस २९ गतेलाई भाक्का दिवसका रूपमा मनाउँदै आएका छन्। कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा विर्तामोडमा सांस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाइएको हो।

उक्त कार्यक्रम हेर्न झापा लगायत, मोरङ, इलाम र छिमेकी राष्ट्र भारतबाट आएका थिए। बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा आयोजकले उपस्थित सबैलाई निशुल्क भाक्का खाने व्यवस्था मिलाएका थिए।

भाक्का कोच राजवंशी समुदायले चिसो (हिउँदे) मौसममा खाने प्रमुख परिकार हो। पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाक्का खाने प्रचलन बढेको छ। राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन पछिल्लो समय सबै जातजातिबीच लोकप्रिय बनेपछि यसलाई प्रवर्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाउन थालिएको संस्थाका अध्यक्ष अभय राजवंशीले बताए। झापामा भक्कालाई जाडोको मौसममा चोक–चोकमा खान पाइने एक सामान्य खाजाको रूपमा लिने गरे पनि भक्का स्वास्थ्यका लागि हितकर खाजा भएको अध्यक्ष राजवंशीले बताए।

शुद्ध चामलको पिठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ। पिठोको चामलमा कुनै वस्तु मिसावट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाक्का पूर्ण रुपमा स्वस्थकर मानिन्छ। भाक्का दिवसको अवसरमा विभिन्न स्वादमा भाक्का खानुका साथै कोच लोक सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति रहेको थियो।

तपाईको प्रतिक्रिया