Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २८ पुष । जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय हुने गरी पाठ्यक्रम तयार गरेको छ ।

यसैगरी विभिन्न विश्वविद्यालयले स्नातक,स्नातकोत्तर र विद्यावारिधि तहसम्म योग विषय अध्ययनअध्यापनका लागि तयारी गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्को ‘टी–एसइई’ को ‘लेभल २’मा तीनवर्षे योगार्थी कक्षा सञ्चालन हुन थालेको छ ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा.लेखनाथ पौडेलले विगतमा कक्षा ९ मा योग विषयको पाठ्यक्रम रहेकामा अब एकीकृत पाठ्यक्रमका रुपमा कक्षा १२ सम्म योग, प्राकृतिक चिकित्सा र आयुर्वेदका अलग अलग तीन ऐच्छिक विषय पढ्न सकिने जानकारी दिए । उनले पाठ्यक्रम तयार भइसकेकाले लागू गराउन चाहने विद्यालयले माग गरेका आधारमा पाठ्यपुस्तक उपलब्ध हुने जानकारी दिए ।

योग प्रशिक्षक एवं अभियानकर्मी डा.हरिप्रसाद पोखरेलको संयोजकत्वमा गठित कार्यदलले माध्यमिक तहको योग विषयको पाठ्यक्रम तर्जुमा गर्न सुझाव दिएको थियो । उक्त सुझावलाई पाठ्यक्रम विकास परिषद्ले स्वीकृत गरेको थियो । आउँदो माघ १ गते ‘राष्ट्रिय एकताः योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय योग दिवस मनाउने तयारी भइरहेका बेला मन्त्रालयले योगलाई शैक्षिक र अभ्यास दुवै क्षेत्रमा प्रवद्र्धनका लागि पहल गरिरहेको छ ।रासस

तपाईको प्रतिक्रिया