Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २८ पुष । वैदेशिक रोजगारीको प्रक्रियामा ठगिएका र बेचविखनमा परेका पीडितले स्थानीय प्रहरी चौकीबाटै उजुरी दिन सक्ने गरी वैदेशिक रोजगार विभाग र नेपाली प्रहरीबीच आइतबार समझदारी भएको छ । अब पहिलेजस्तो पीडित उजुरीको लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ ।

वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसारप्रसार गर्ने कार्यलाई नियन्त्रण गर्न र ठगी कार्यलाई रोक्नको लागि दुई निकायबीच समझदारी भएको हो। समझदारीमा वैदेशिक रोजगारी ऐनमा छुटेका विषयमा कुन निकायले के हेर्ने भनेर प्रष्ट पारिएको छ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगहरुलाई कारबाही गर्न काठमाडौंस्थित वैदेशिक रोजगार विभागमै धाउनुपर्ने बाध्यता हटाई घरदैलो सेवा सुरुवात गरेको बताए।
प्रहरी चौकीले वैदेशिक रोजगार विभागको क्षेत्रधिकार बलियो भएमा विभागमा पठाइदिन्छ। विभागले आफ्नो नेतृत्वमा प्रहरीसँग समन्वय गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ। तर, प्रहरीको क्षेत्रधिकार बलियो भएमा प्रहरीको अपराध अनुसन्धान विभाग वा मानव बेचबिखन नियन्त्रण ब्युरोमा पठाइनेछ।

समझदारीले वैदेशिक रोजगारको क्रममा हुने मानव बेचविखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य हुने, बेचबिखनका जोखिमका क्षेत्रहरु पहिचान गर्ने र वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न हुनेलाई कानुनको दायरामा ल्याई कारबाही चलाउनको लागि बाटो खुलेको छ।कान्तिपुर

तपाईको प्रतिक्रिया