Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठ्माडौं, २५ पुष । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्री मणिशैल किनारमा स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् ।

पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेखछ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

एकतीस अध्याय रहेको यस श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।रासस

तपाईको प्रतिक्रिया