Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

जलेश्वर, २२ पुष । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ ।उक्त दुर्घटनामा नेपाली कांग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेपाली कांग्रेसका जयप्रकाश चौधरीसमेत गम्भीर घाइते भएका छन्। घाइतेको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

महोत्तरीको मनरासिस्वा नगरपालिका १० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। काठमाडौंबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठोक्‍किएर दुर्घटना भएको थियो ।

बिहान ५ बजेतिर भएको सो दुर्घटनामा नेता राय गम्भीर घाइते भएका थिए। उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आफन्त असिम दुबेले बताए।

नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका राय प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यसैगरी सोही दुर्घटनामा परी १८ जना अन्य कांग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घाइते भएका छन् भने उनीहरुको उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

तपाईको प्रतिक्रिया