Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

मोरङ, २१ पुष । राष्ट्रिय सभाका ३ सदस्यका लागि प्रदेश १ मा ३ वटा राजनीतिक दलबाट ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ९ गते हुने निर्वाचनका लागि नेकपा, कांग्रेस र समाजवादी पार्टीका नेता–कार्यकर्ता नारा–जुलुससहित विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

नेकपाबाट महिलातर्फ ६४ वर्षीया इन्दिरादेवी गौतमले उम्मेद्वारी दिएकी छन् । उनी सुनसरीको इटहरी उपमहानगर–४ की स्थायी बासिन्दा हुन् । दलिततर्फ मोरङका गोपीबहादुर सार्की अछामी र अन्य तर्फबाट झापाका ६१ वर्षीय देवेन्द्र दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसबाट महिलातर्फ सुनसरीकी ६५ वर्षीया मीना पुलामीमगर, दलिततर्फ पाँचथरका निरबहादुर विश्वकर्मा र अन्य समूहतर्फ झापाका ५८ वर्षीय राजेन्द्रकुमार घिमिरेले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय मोरङले जनाएको छ ।

समाजवादी पार्टीबाट महिलातर्फ विराटनगरकी कमला बडही, दलिततर्फ मोरङका ज्ञानकुमार परियार र अन्यतर्फ विराटनगरका भरतकुमार दाहालले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले बताए ।

स्थानीय तहमा नेकपाको १ सय ७० सिट छ । यसको मतभार ३ हजार ६० छ । प्रदेश सभामा नेकपाका ६७ सदस्य छन् । प्रदेशसभा सदस्यको मतभार ३ हजार २ सय १६ रहेको छ । नेकपाको जम्मा मतभार ६ हजार २ सय ७६ पुग्छ ।

कांग्रेसको स्थानीय तहमा ९६ सिट छन् भने प्रदेशसभा सदस्य २१ जना छन् । कांग्रेसको जम्मा मतभार २ हजार ७ सय ३६ पुग्छ । यसै गरी समाजवादी पार्टीको स्थानीय तहमा ४ सिट र प्रदेशसभा सदस्यमा ३ जना छन् ।
यसको कुल मतभार २ सय १६ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्थानीय तहमा ४ जना र प्रदेश सभामा एक जना छन् । यसको मतभार १ सय २० छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मतभार ४८ छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया