Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २१ पुष । झापामा पछिल्लो समय साना चिया किसानले धमाधम चियाखेती मास्न थालेका छन्। सरकारले चियाखेतीमा दिँदै आएको मल र नगद अनुदान कटौती गरेपछि यस्तो अवस्था आएको हो।

‘हल्दिबारी गाउँपालिका ३ का चिया व्यवसायी श्रीप्रसाद मैनाली का अनुसार समयमा मल नपाइने, भाउ पनि नहुने, मजदुर पनि मुस्किलले भेटिने भएकाले जीवनभर घाटाको व्यवसाय गर्न नसकिने बताएका छन् ।
मैनालीका अनुसार सरकारले मल उपलब्ध गराएन। बगान जोगाउन किसानले आफैं मलको व्यवस्थापन गरे भने पुलिस प्रशासन दुःख दिन आइपुग्ने अवस्था छ। ‘यसरी कसरी किसानले चिया खेतीबाट जीवन निर्वाह गर्न सक्छन् ? ’, उनले प्रश्न गरे। मैनालीले १६ बिघा क्षेत्रफलमा चियाखेती लगाएका थिए। गत वर्षदेखि उनले चिया उखेल्न सुरु गरे। ‘तीन बिघामा सिमेन्ट फ्याक्ट्री खोल्दै छु। बाँकी चिया पनि उखेलेर व्यावसायिक खेती गर्छु’, उनले भने।

झापामा साना चिया किसानको संख्या १२ सय छ। यसमध्ये ८ सय साना चिया किसान हल्दिबारी गाउँपालिका भित्रै छन्। हल्दिबारी गाउँपालिका भित्रका साना चिया किसान अन्य खेतीतर्प लाग्दै छन्। स्थानीय सहतलाल राजबंशीले आफ्नो ५ बिघा क्षेत्रफलको चिया उखेलेर धान र तोरी खेती लगाएका छन्। यसैगरी १४ बिघा क्षेत्रफलमा चिया लगाएका सरोज बिमलीले यो वर्ष दुई बिघाको चिया उखेलेर उक्त ठाउँमा तोरी लगाएका छन्।

स्थानीय रामहरि थापाले पनि चिया मासेर अरु नै प्रयोजनका लागि प्रयोग गर्ने सोच बनाएका छन्। स्थानीय दीपेन्द्र भट्टलाईले ५ बिघा क्षेत्रफलको चिया उखेलेका छन्। ‘मुख्य कुरा हरियो पत्तिको मूल्य बढ्ला भन्यो घट्दो दरमा छ’, सहतलाल राजबंशीले भने, ‘प्रतिकेजी मुस्किलले १० रुपैयाँ फ्याक्ट्रीले दिन्छ। तर, कृषकको प्रतिकेजी लगानी १५ रुपैयाँ पर्न जान्छ। सधैँभरी ढाकछोप गरेर घाटा खाएर कसरी व्यवसाय गर्न सकिन्छ ? ’

साना चिया किसान मात्र नभई ठूला चिया उद्योगको समस्या पनि मल र अनुदानमा गएर अड्किएको छ। पाँच अर्ब रुपैयाँ विदेशी मुद्रा भित्रयाउँदै आएको चिया क्षेत्रको सिंगो विकास र प्रवद्र्धनमा सरकारी बेवास्ता र लापर्बाहीले किसान निराश हुन थालेको चिया उद्यमी यामबहादुर क्षेष्ठले बताए।

‘एक अर्ब केजी चिया उत्पादन हुने भारतमा नेपालबाट जाने एक करोड केजी बराबरको चियाले भारतीय व्यवसायीलाई हतोत्साही बनाउने गर्छ’, नेपाल चिया बचाउ अभियानका संयोजक तथा चिया उद्यमी आदित्य पराजुलीले भने।

हरेक कुरामा ‘सुपर जोन’ जिल्लाको रूपमा घोषणा भएको झापा सबैभन्दा लामो इतिहास र क्षेत्रफल ओगटेको चिया क्षेत्रबारे भने कुनेै प्राविधिक विज्ञ ज्ञान केन्द्रमा नभएको चिया उद्यमी रविचन्द्र नेपाल बताउँछन्। सरकारले गर्दै गएको सौतेनी व्यवहारले गर्दा चिया कृषक अन्य व्यवसायप्रति आकर्षित हुने क्रम सुरु भएको छ। झापामा मात्र ५० हजारभन्दा बढी चिया मजदुर र २० भन्दा बढी चिया उद्योग छन्।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया