Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठ्माडौं, २० पुष । सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषित ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना तथा सञ्चालनको तयारी गरेको छ । यी केन्द्रहरु स्थानीय तहमार्फत कार्यान्वयनमा आउने भएका छन् ।

सरकारले बजेट भाषणमार्फत ‘ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप अनुभवलाई अन्तर-पुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने गरी प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र संचालन गरिने’ बताएको थियो । सोही अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष कूल १ सय ६४ स्थानीय तहका २ सय स्थानमा सेवा केन्द्र स्थापना गर्न बजेट पठाएको छ ।

चालु आवमा विनियोजन भएको बजेट सम्बन्धित महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको नाममा पठाउने निर्णय भइ एलएमबीआइएसमा प्रविष्टसमेत गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सातवटै प्रदेशका जिल्ला पर्ने गरी स्थान छनोट गरेको छ । पूर्वमा ताप्लेजुङदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्ला छानिएका छन् ।

प्रत्येक स्थानलाई १ लाख बजेट

केन्द्रबाट ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न हरेक स्थानीय तहले १ लाख रुपैयाँ पाएका छन् । यस अनुसार मन्त्रालयबाट २ सय स्थानका लागि २ करोड रुपैयाँ स्थानीय तहमा पुगेको छ । स्थानीय तहले निर्धारण गरेको नीति, कार्यक्रम तथा मापदण्डका आधारमा यस्तो केन्द्र सञ्चालन गर्न सक्नेछन् ।

स्थान छनोटको अधिकारसमेत स्थानीय तहमै दिइएको छ । ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र दैवी प्रकोप तथा आपत्कालिन अवस्थामा उद्धार तथा दैनिकरुपमा सवारी साधन, एम्बुलेन्स, दमकल सेवाको सहज पहुँच भएको स्थानमा छान्नुपर्ने भएको छ ।

सेवा केन्द्र स्थापना हुने स्थानमा बिजुली, पानी र टेलिफोनको सुविधा भएको, प्राकृतिक मनोरम तथा खुला स्थान भएको हुनुपर्ने गरी मापदण्ड तोकिएको छ ।

केन्द्र स्थापना भएको स्थानबाट ५ किलोमिटरभित्र स्वास्थ्य सेवा उपलब्ध हुने र सबैलाई पायक पर्ने स्थान छान्नु पर्ने गरी मन्त्रालयले मापदण्ड तोकेको छ । सम्भव भएसम्म नजिकमा धार्मिक आस्थाका पवित्र धार्मिक तीर्थस्थल, नदी, मन्दिरजस्ता स्थान हुनुपर्ने गरी स्थान चयन गर्न मापदण्ड तोकिएको छ ।

त्यस्तो स्थानमा भजन-कीर्तन, धार्मिक पुस्तक र वाद्यवाधनको व्यवस्था गर्नसमेत स्थानीय तहलाई निर्देश गरिएको छ ।

दिउँसोको समयमा खाजा र स्वच्छ खानेपानीको व्यवस्था, मौसम अनुसार हिटर र पंखाको समेत व्यवस्था गर्न आग्रह गरिएको छ । प्रवचन कार्यक्रम संचालन गर्ने र सोको अभिलेख राख्ने व्यवस्था गर्नुपर्ने भएको छ ।

तपाईको प्रतिक्रिया